पर्सी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा पनि आजबाट मतदाता परिचय पत्र वितरण सुरु भएको छ । आज र भोली जिल्लाका सबै १ सय ३९ वटै मतदान केन्द्रबाट परिचय पत्र वितरण हुने जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । अन्यत्र जिल्लामा नयाँ तथा परिचयपत्र पाउन बाँकी मतदाताले मात्र परिचय पत्र पाउने भएपनि रुकुम पश्चिममा भने सबै मतदाताले परिचयपत्र पाउन लागेका हुन् ।
सिंगो रुकुम जिल्ला विभाजन भएर रुकुम पश्चिम र रुकुम पूर्व बनेपछि अघिल्लो पटकको निर्वाचनका बेला रुकुम पश्चिमका मतदाताको नामावलीमा त्रुटीवस नागरिकता जारी भएको जिल्ला रुकुम पूर्व हुन गएपछि सबै मतदाताका लागि नयाँ परिचयपत्र बनेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । सबै मतदाताहरुले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन सक्ने उहाँले बताउनुभयो । आज र भोली दिनभर परिचय पत्र पाईने छ ।
जसअनुसार आज बिहान देखि रुकुम पश्चिमका सबै मतदान केन्द्रहरुबाट परिचयपत्र वितरण सुरु भएको छ । मतदाता नामावली भएका तर परिचय पत्र नभएकाले पनि नागरिकता देखाएर मत हाल्न भने पाउँने छन् । तर सकभर सबैले परिचयपत्र लिएमा सजिलो हुने जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । रुकुम पश्चिममा कुल १ लाख ४ हजार ४ सय ८२ जना मतदाता छन् । त्यस्तै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि ७६ मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्र तोकिएका छन् ।