Kakhara सबैको खबर सम्पूर्ण खबर
छात्रवृत्ति प्रदानको प्रक्रिया अघि बढ्यो
आमाबुवा स्मृति अक्षय कोषको बैठकमा सहभागिहरु ।

आमा–बुवा स्मृति अक्षय कोषले छात्रवृत्ति प्रदानको प्रक्रिया अघि बढाएको छ । बाँफिकोट गाउँपालिकामा स्थापना गरिएको अक्षय कोषले गाउँपालिकाभरका छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नका लागि विद्यार्थी छनौट थालेको हो । कोषले पहिलो चरणमा ४३ जना विद्यार्थी छनौट गरेको छ । कोषको बैठकले गाउँपालिकाका २१ विद्यालयका ४३ विद्यार्थी छात्रवृत्ति प्रदान गर्नका लागि छनौट गरेको हो ।

गाउँपालिकामा रहेका ४४ विद्यालयमध्य बाँकी विद्यालयबाट विवरण प्राप्त भएपछि अरु विद्यार्थी छनौट गरिने कोषका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । कोषले विद्यालयलाई छात्रवृत्ति पाउनैपर्ने विद्यार्थी सिफारिस गर्न अनुरोध गरेको छ । टुहुरा, सहिद परिवार, अपांग, गरीब तथा विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउन कोष स्थापना गरिएको थियो । कोषमा जम्मा भएको उक्त रकमबाट आउने ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको हो ।

एक विद्यार्थीलाई एक वर्षभर पुग्ने कपी, कलम, पोशाक, रजिष्ट्रेशन तथा परीक्षा शुल्क यही कोषले छात्रवृत्ति वापत प्रदान गर्ने योजना बनाएको छ । विभिन्न व्यक्तिले नगद योगदान गरेर २७ लाख ६२ हजार १ सय ८४ रुपैयाँ यो कोषमा जम्मा गरेका छन् । कोष अँझै ३० लाखसम्म पुग्ने अनुमान गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update