देशभरमा आज स्थानीय तहको निर्वाचन हुँदै छ । पालिका प्रमुख, उप प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र विभिन्न सदस्य चुन्न देशभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदान हुन लागेको छ । बिहान ७ बजेदेखि सुरु हुने मतदान बेलुका ५ बजेसम्म संचालन हुने छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्धक्क भएर आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गरिसकेको छ ।
मतदाता परिचयपत्र लिएर आफ्नो नजिकको मतदान केन्द्रबाट मतदाताहरुले आफुलाई मन परेको व्यक्तिलाई मतदान गर्न पाउँने छन् । मतदाता नामावलीमा नाम दर्ता भएका तर विभिन्न कारणले परिचयपत्र हराएका व्यक्तिहरुले समेत नागरिकता देखाएर भोट हाल्न पाउँने निर्वाचन आयोगले यसअघि नै जानकारी गराईसकेको छ ।
रुकुम पश्चिम र रुकुम पूर्वमा पनि निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको सम्बन्धीत निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन् । रुकुम पश्चिमका ६ वटा स्थानीय तहका १ सय ३९ वटा र रुकुम पूर्वका ३ वटा स्थानीय तहका ४९ वटा मतदान केन्द्रमा मतदान हुँदै छ । सबै मतदान स्थलहरुमा मतदान केन्द्रहरु हिजै निर्माण गरिएको छ । मतगणना स्थल पनि निर्माण गरिएको छ ।
आज पानी पर्नसक्ने सम्भावना रहेकाले सोही अनुसार व्यवस्था गरिएको मतदान अधिकृतहरुले जनाएका छन् । यसका साथै पानीबाट जोगिएर मतदानमा सहभागि हुन मतदाताहरुलाई आग्रह गरिएको छ ।