Kakhara सबैको खबर सम्पूर्ण खबर
सुरु भयो कमलको डाँठ निकाल्न
सिस्ने गाउँपालिका ५, रुकुमको स्थित कमलदह ।

कमलको डाँठ निकाल्न थालिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका ५, रुकुमकोटमा रहेको कमलदहबाट कमलको डाँठ निकालेर विक्री सुरु गरिएको हो । गाउँपालिकाले यो वर्षको लागि कमलका डाँठ निकाल्ने ठेक्का आह्वान गरेको थियो । स्थानीय रमितकुमार शाहले अधिकतम रकम कबोलेर यो ठेक्का लिनुभएको छ । आइतबारबाट कमलका डाँठ निकाल्ने र विक्री गर्न थालिएको छ ।

गाउँपालिकाले न्युनतम अंक एक लाख तोकेर ठेक्का आह्वान गरेकामा शाहले एक लाख १५ हजार एक सय रुपैयाँमा डाँठ निकाल्ने जिम्मा लिनुभएको हो । यो वर्ष कमलको डाँठ विक्री वितरणको मूल्य समेत निर्धारण गरिएको छ । प्रति किलो ५ सयका दरले कमलको डाँठ विक्री वितरण गर्ने गरी सम्झौता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभयो । यो विक्री वितरणमा मनपरी भएको गुनासो आएपछि ठेकेदारसित प्रति किलो ५ सयका दरले विक्री वितरण गर्ने गरी सम्झौता भएको दाहालले जानकारी दिनुभयो ।

कमल निकाल्नेहरुको दर पनि कायम गरिएको छ । कमलदहको बीबीचमा गएर कमलको डाँठ निकाल्ने पुरुषले एक दिनको ६ सय, छेउछाउमा निकाल्ने पुरुषले ५ सय र महिलाका लागि ४ सय दर कायम गरिएको छ । माघ १८ गतेदेखि सुरु गरिएको डाँठ निकाल्ने कार्य चैत्र १७ गते सम्म चल्ने गरी गाउँपालिका र ठेकेदारबीच सम्झौता भएको छ । 

कमलको डाँठको अचार खाइन्छ । स्वस्थवर्द्वक मानिने यसबाट जण्डिस लागेकाहरुलाई बढी फाइदा हुने बताइइएको छ । हरेक वर्षको एक पल्ट कमलको डाँठ निकाल्ने प्रचलन छ । स्थानीय तह गठन भएपछि सिस्ने गाउँपालिकाले यसैगरी कमलको डाँठ निकाल्ने र विक्री वितरण गर्ने गरेको छ । कमलको डाँठ देशका विभिन्न ठाउँका साथै विदेशबाट समेत माग हुने गर्दछ । स्थानीय तथा जिल्लाबासीले देशका विभिन्न ठाउँका साथै विदेशमा समेत यसलाई कोशेलीका रुपमा पठाउने गरेका छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update