Kakhara सबैको खबर सम्पूर्ण खबर
अभिभावकबाट शुल्क उठाएर विद्यार्थीलाई दिवा खाजा
आईतबार आयोजित अभिभावक भेला ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, सिस्नेखोलामा रहेको महाकाली माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पनि विद्यालयमै खाजा खान पाउने भएका छन् । बालविकास देखि कक्षा ५ सम्म संघीय सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेको भएपनि ६–१० सम्मका विद्यार्थीहरुले खाजा खान पाउँदैनन् । अव भने विद्यालयमा अध्यनरत सबै विद्यार्थीहरुले बिद्यालयमै खाजा खान पाउँने भएका हुन् । विद्यालयमा कुल ३ सय १८ जना विद्यार्थीहरु अध्यनरत छन् । जसमध्ये ६–१० मा १ सय ७ जना विद्यार्थी छन् । विद्यालयले अभिभावकबाट पैसा उठाएर सबै विद्यार्थीहरुका लागि दिवा खाजा कार्यक्रम संचालन गर्न लागेको छ ।

आईतबार भएको अभिभावक भेलाले अभिभावकहरुबाट पैसा उठाएर खाजा खुवाउने निर्णय गरेको हो । जंकफुडको प्रयोगमा कमि गर्ने, विद्यार्थीको पोषणमा सुधार ल्याउने र विद्यार्थी उपस्थितिलाई बढाउने उदे्श्यले अभिभावकबाटै पैसा उठाएर खाजा खुवाउने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो । संघीय सरकारबाट वालविकास देखि ५ कक्षा सम्मका विद्यार्थीका लागि प्रति विद्यार्थी १५ रुपैंयाका दरले पैसा आईरहेको छ । तर अभिभावक भेलाले भने ६ देखि १० कक्षा सम्मका विद्यार्थीका लागि प्रति विद्यार्थी १० रुपैंया उठाउने निर्णय गरेको उहाँको भनाई छ ।

१० रुपैंया भन्दा कम लाग्ने देखिएमा अहिले तोकिएको पैसा घटाईने उहाँले बताउनुभयो । अव कसैले विद्यालयमै खाजा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने भएको छ । विद्यार्थीले फरक बार फरक खाजा खान पाउँने छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काका अनुसार आईतबार खिर, सोमबार हलुवा, मंगलबार चना, बुधबार खिचडि, बिहिबार फ्राई राईस र शुक्रबार अण्डा खुवाउने निर्णय भएको छ । अहिले भान्सा, भाँडाकुँडा लगायत व्यवस्थापनको काम भइरहेको र माघ २५ गते आईतबार देखि दिवा खाजा कार्यक्रम सुरु हुने बताईएको छ ।

यसका लागि चेतना खड्काको संयोजकत्वमा २५ सदस्यीय खाजा व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिले खाजा कार्यक्रमका लागि सहजिकरणको भुमिका खेल्ने छ । समितिका एक जना सदस्य दैनिक विद्यालयमा पुगेर अनुगमण सहित खाजा खुवाउन सहयोग गर्ने बताईएको छ । यो विद्यालयलाई साविकको जिल्ला शिक्षा कार्यालयले २०७२ सालमा नमूना विद्यालय घोषणा गरेको थियो । तर अहिले नमूना विद्यालय अन्तरगत कुनै कार्यक्रम छैनन् । विद्यालय आफैले भने नमूना योग्य कामको सुरुवात गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update