Kakhara सबैको खबर सम्पूर्ण खबर
गठबन्धनबाट चौरजहारी नगरप्रमुखका उम्मेदवारको वडामा माओवादीको प्यानल विजयी
चौरजहारी १ मा विजेता टोली अन्तिम मत परिणाम घोषणापछि ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा इन्द्रे गिरी विजय हुनु भएको छ भने अरु ४ सदस्यमा पनि माओवादीकै उम्मेदवार विजेता बनेका छन् ।

गिरीले कांग्रेस एमाले गठबन्धनका यदु आचार्यलाई पराजित गर्नुभएको हो । गिरीको पक्षमा ६ सय ८६ मत आएको छ भने आचार्यको पक्षमा ६ सय ६४ मत आएको छ । वडा सदस्य भने  माओवादीकै गणेश लामिछाने, दौलत विष्ट, चन्द्रकला सुनार र सिता विष्टले जितेका छन् ।

यो वडा नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखका उम्मेदवार प्रेमबहादुर ओलीको वडा हो । २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले यो वडा जितेको थियो । २०७४ सालमा एमाले, कांग्रेस र माओवादी एक्लाएक्लै लडेका थिए भने यो पटक कांग्रेस एमाले गठबन्धन बनाएर लडेका थिए भने माओवादी केन्द्र एक्लै लडेको थियो ।

वडामा १ हजार ४ सय ४३ मत खसेको थियो । नगरप्रमुखमा भने कांग्रेसका ओलीले सुरुवातदेखि अग्रता कायम गरिरहनु भएको छ । अहिले कांग्रेसका ओली र माओवादीका पुष्प वादीको मतान्तर ९६ छ । उपप्रमुखमा भने माओवादीकी इश्वरीकुमारी शर्मा विएमले अग्रता कायम गर्नुभएको छ । एमालेका टंकप्रसाद ओलीले उहाँलाई पछ्याइरहनुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update