रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन फराकिलो मतान्तरले विजयी हुनुभयो । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै विष्ट र रोकाले जित निकाल्नु भएको हो । कांग्रेसका गोरखप्रसाद चन्द अध्यक्ष र एमालेका प्रकाश खड्का उपाध्यक्षमा पराजित हुनुभयो ।
अध्यक्षमा निर्वाचित विष्टलाई ६ हजार १९ मत आएको छ भने चन्दलाई ४ हजार ३ सय २० मत आएको छ । उपाध्यक्षमा निर्वाचित रोकाको पक्षमा ५ हजार ९ सय ५८ मत आउँदा खड्काको पक्षमा ३ हजार ४ सय २० मत आएको छ । ११ वडा रहेको यस गाउँपालिकाका ९ वडामा माओवादी केन्द्रले जित निकालेको छ भने २ वडा नेपाली कांग्रेसले जितेको छ । ४ र ५ नम्बर वडामा नेपाली कांग्रेसको प्यानलले नै जितेको छ । ११ नम्बर वडामा माओवादीको वडाध्यक्ष मात्रै निर्वाचित हुनुभएको छ भने अरु सबै वडामा प्यानल नै विजयी भएको छ ।