नेपाल सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोगमा पदाधिकारी नियुक्त गरेको छ । रुकुम पश्चिम र रुकुम पूर्व दुवै जिल्लामा पदाधिकारी नियुक्त भएका छन् । एक जना अध्यक्ष, एक जना विज्ञ र एक जना सदस्य गरी ३ जना नियुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले आफ्ना नेताहरुलाई यसमा नियुक्त गरेको हो ।
रुकुम पश्चिमको अध्यक्षमा केन्द्रीय सदस्य नारायणकुमार शाह मनोनित हुनुभएको छ भने विज्ञमा तुलषा मल्ल नियुक्त हुनुभएको छ । आयोगको सदस्यमा मिश्रिलाल पुनलाई नियुक्त गरिएको छ । शाह आठबीसकोट नगरपालिकाबासी हुनुहुन्छ भने मल्ल बाँफिकोट गाउँपालिका र पुन चौरजहारी नगरपालिकाबासी हुनुहुन्छ ।
रुकुम पूर्वको अध्यक्षमा सतमान पुन नियुक्त हुनुभएको छ । उहाँ पनि पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित हुनुभएको थियो । सिस्ने गाउँपालिकाका गोपाल रेउलेलाई विज्ञको रुपमा नियुक्त गरेको सरकारले पुथाउत्तरगंगा निवासी केशकुमारी तुलाचनलाई सदस्यमा नियुक्त गरेको छ । अध्यक्षमा नियुक्त पुन पनि पुथाउत्तरगंगा निवासी हुनुहुन्छ । सरकारले एकै पटक देशैभरका जिल्लामा आयोग अध्यक्ष, विज्ञ र सदस्य नियुक्त गरेको हो । यो आयोगले भूमी सम्बन्धि समस्या समाधानका लागि काम गर्ने जनाइएको छ ।