रुकुम पश्चिमको सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले ४ वटा निर्णय गर्नुभएको छ । ४ वटा निर्णयमा हस्ताक्षर गरी अध्यक्ष विष्टले पदभार ग्रहण गर्नुभयो । गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गरीब, दलित, असहाय, द्धन्दपीडित, विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षामा छात्रबृत्ति प्रदान गर्ने निर्णयमा अध्यक्ष विष्टले हस्ताक्षर गर्नुभएको छ ।
त्यसबाट अध्ययन गरेकाहरुले गाउँपालिकामा निश्चित समयमा निःशुल्क सेवा गर्नुपर्ने छ । हरेक वडामा सहकारी सस्तो पसल सञ्चालन गर्ने र दैनिक उपभोग्य सामग्रीको उपलब्धतालाई सहज बनाउने निर्णय विष्टले गराउनुभएको छ । २ वर्षभित्र सानीभेरी गाउँपालिकाका सबै खरका छाना भएका घर खरका छानामुक्त बनाइने र गाउँपालिकामा रहेको विपन्न नागरिकको स्वास्थ्य बीमा गाउँपालिकाले नै निःशुल्क गरिदिने निर्णय विष्टले गराउनुभएको छ । सानीभेरी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष कमला रोका सहित ११ वटै वडाध्यक्षले पनि आजै पदभार ग्रहण गरेका छन् ।