रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नं. ६ का अधिकांश टोलमा एक घर एक धारा पुग्ने भएको छ । वडावासीलाई सहज खानेपानीको आपुर्तिका लागि विभिन्न ५ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । यसै आर्थिक वर्षभित्र वडाका अधिकांश टोलमा एक घर एक धारा पुग्न लागेको वडाले जनाएको छ । निर्माणाधिन खानेपानी आयोजनाको काम सम्पन्न भएमा वडाका ६ सय ५१ घरमा खानेपानीको धारा पुग्ने छ ।
१ सय २५ घरधुरीमा खानेपानीको धारा पुर्याउने गरी गर्थला खानेपानी आयोजना निर्माण हुँदै छ । यो आयोजनाबाट वडाका मनका गाउँ र मनका बगरका स्थानीय लाभान्वित हुने वडा कार्यालयले जनाएको छ । गाउँभन्दा ४ किलोमिटर टाढा रहेको गर्थला मुहानबाट गाउँमा पानी ल्याईदै छ । यो आयोजना संघीय खानेपानी आयोजना सुर्खेतले कार्यान्वयन गरिरहेको छ । ४२ लाख लागत रहेको यो आयोजना यसै आर्थिक वर्षभित्र सक्ने लक्ष छ । आयोजनाका लागि पाईप लगायतका सामग्रि पुगिसकेको र अवको केहि दिनमा काम सुरु हुने वडाध्यक्ष डिलवहादुर सार्कीले जानकारी दिनुभयो ।
त्यस्तै तितेपानी खानेपानी आयोजना पनि निर्माण हुँदै छ । यो आयोजनाबाट सुर्योदय मावि होली, वडा कार्यालय, स्वास्थ्य कार्यालय सहित मुल बजारका ७५ घरधुरीलाई लाभ मिल्दै छ । ४० लाख लागतको यो आयोजना खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमले कार्यान्वयन गर्दै छ । यस आयोजनाका पनि आवश्यक सामानहरु पुगेको केहि दिनमा काम सुरु हुने बताईएको छ । दामाचौरका १ सय ७५ घरधुरीमा खानेपानी पुर्याउने लक्ष सहित डोविसे खानेपानी आयोजना निर्माणाधिन छ । आयोजनाको लागत २० लाख ६८ लाख ९ हजार ४ रुपैंया रहेको छ ।
नाखिरा खानेपानी आयोजना पनि निर्माणाधिन छ । यस आयोजनामा यो वर्ष ४ लाख ३० हजार ५८ यो खर्च हुँदै छ । यसबाट अनाह, लामाढुंगा र चिलाहा टोलका १ सय ५१ घरले लाभ उठाउँने छन् । साङले खोला खानेपानी आयोजनाको काम पनि यसै वर्षभित्र सक्ने गरी काम भइरहेको वडाध्यक्ष सार्कीले बताउनुभयो । चालु आर्थिक वर्षमा ४ लाख ८४ हजार ६ सय २२ रुपैंया खर्च हुन लागेको यो आयोजनाको काम सकिएमा वडाका त्रिवेणि र छिमी टोलका १ सय २५ घरधुरीमा खानेपानी पुग्ने छ । वडामा ५ सय ६५ घरधुरी छन् । तर एकै परिवारका दुई वा त्यो भन्दा बढी टोलमा पनि घर हुने भएका कारण घर संख्या धेरै रहेको वडाको भनाई छ ।
निर्माणाधिन आयोजनाको काम सम्पन्न भएमा वडाका होलिकाँडा, सन्जेतरा र ज्यामिरे बाहेकका सबै घरमा खानेपानी पुग्ने वडाध्यक्ष सार्कीको दाबी छ । चुनावी घोषणा अनुसार वडावासीलाई सहज खानेपानीको पहुँचमा पुर्याउन पहल भइरहेको उहाँको भनाई छ । यो वडा नगरपालिकाको विकट वडा मध्येको एक मानिन्छ ।