रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ ले नयाँ जनप्रतिनिधिलाई स्वागत गरेको छ । आज वडा कार्यालय धपेमा एक कार्यक्रमको आयोजना गरी नयाँ पाँच जना जनप्रतिनिधिलाई स्वागत गरिएको हो ।गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका वडा अध्यक्ष गोपाल पुन सहित वडा सदस्य डम्बर पुन, नर बहादुर पुन, लक्ष्मी बुढा सार्की र बिन्दु रावललाई स्वागत गरिएको छ ।
उहाँहरुलाई निबर्तमान वडा अध्यक्ष खर्कसिंह थापाले स्वागत गर्नुभयो । त्यस्तै वडाध्यक्ष पुनले पदभारग्रहण गराउनु भएको छ । साथै उक्त कार्यक्रम मार्फत निबर्तमान वडा अध्यक्षलाई बिदाई पनि गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले किसानको पहिचान र बर्गिकरण गरेर अनुदानको व्यवस्था गर्ने बताउनुभयो । अघिल्लो सरकारले सम्पन्न गर्न नसकेका कामहरुलाई अबको सरकारले पूर्णता दिने उहाँले बताउनुभयो ।
गाउँपालिकालाई समृद्ध बनाउनका लागि पालिका, संघ र प्रदेशबाट बजेको व्यवस्थापन गर्ने उहाँको भनाई थियो । साथै जनताको आवश्यकतालाई मध्यनजर गर्दै सिस्ने सरकार अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । स्थानीय सरकार भनेको प्रत्यक्ष जनता संग जोडिएकोले जनतालाई सरल र सहज तरिकाले सेवा दिन अहोरात्र खटिने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा नव निर्वाचित ८ नम्बर वडा अध्यक्ष पुनले अघिल्लो सरकारले निर्माण गर्न नसकेका अधुरा योजनाहरुलाई सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो । वडामा भइ रहेका विकास निर्माणका काम लाई निरन्तरता दिने उहाँको भनाई छ । अब शिक्षा, स्वास्थ्य, सिँचाई र पर्यटनलाई विशेष जोड दिने उहाँले बताउनुभयो ।
निबर्तमान वडा अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, निबर्तमान महिला सदस्य सशिलाकुमारी बुढा, नेकपा माओवादी केन्द्र सिस्ने ८ का इन्चार्ज देबिलाल पुन, सहिद परिवार सिस्ने ८ का अध्यक्ष पदमबहादुर पुन, अस्थायी प्रहरी पोष्टका इन्चार्ज बिरबहादुर बुढा लगायतले उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन स्यालापाखा स्वास्थ्य चौकी धपेका इन्चार्ज हरिबहादुर केसीले गर्नुभएको थियो ।