रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नवनिर्वाचित प्रमुख रवि केसीले दुई ओटा निर्णयमा हस्ताक्षर गर्नुभएको छ । आज नगरपालिकामा पदभार ग्रहन गर्दै कृषि र स्वास्थ्य बीमाको क्षेत्रमा गर्ने कामका निर्णयमा हस्ताक्षर गर्नुभएको हो । समृद्ध नगरपालिका निर्माण गर्नको लागि अति विपन्न, गरीब तथा असाहय नागरिकको आर्थिक अवस्था सुधारको लागि कृषि तथा पशुपालन क्षेत्रमा रहेको निर्वाहमुखी प्रणालीलाई निर्यातमुखी बनाउने निर्णयमा उल्लेख छ ।
कृषि उत्पादनमा वृद्धि र कृषि उपजको प्रशोधन तथा वजारीकरणमा लगानी बृद्धि गर्ने निर्णयमा नगरप्रमुख केसीले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै दुध, फलफुल, मसला, तथा मासुजन्य उत्पादन तथा निर्यातलाई प्रबद्र्धन गर्दै ग्रामिण अर्थतन्त्रको सवलीकरणमा जोड दिने नगरपालिकाको पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो । यस कार्यका लागि सबै खेतीयोग्य जमिनमा सिचाई तथा प्रविधि सेवा उपलव्ध गराउने, कृषि तथा पशु क्षेत्रमा नयाँ प्रजातिकाको खोजि, रैथाने बालीको संरक्षण, नश्ल सुधार तथा औषधोपचारको व्यवस्था गर्ने, कृषि तथा वनजन्य पदार्थमा आधारीत उद्योग स्थापना तथा संचालन गर्ने निर्णय प्रमुख केसीले गराउनुभएको छ ।
जनयुद्ध, दोस्रो जन आन्दालन, विभिन्न राजनीतिक आन्दोलनका सहिद परिवार, घाइते तथा अपाङ्गहरुको लागि निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । साथै पदभार ग्रहणको क्रममा बोल्दै प्रमुख केसीले समृद्ध नगरपालिकाको लागि जनताले चाहेको कार्यक्रम ल्याउने बताउनुभएको छ । उहाँले नगरपालिकाको समग्र विकासको लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै सबै मिलेर नगरपालिकाको हितमा काम गर्ने बताउनुभयो ।