Kakhara सबैको खबर सम्पूर्ण खबर
सोती घटनाका २ वर्षः न्यायका लागि दवाव दिन ‘भेरी प्रतिरोध मार्च’
भेरी प्रतिरोध मार्चमा सहभागीहरू ।

सोती घटनाका पिडितलाई न्याय दिन दवाव दिने उद्ेश्यले भेरी नदी किनारमा भेरी प्रतिरोध मार्च आयोजना गरिएको छ । २ वर्ष अघि आजैकै दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा ज्यान गुमाएका ६ जना युवाका परिवारलाई न्याय दिन दवाव दिने उदे्श्यले मार्चको आयोजना गरिएको हो । 

घटना भएको दुई वर्षसम्म पनि मुद्दाको टुंगो लागेको छैन् । जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा विचाराधिन छ । घटनामा संलग्न रहेको आरोपमा पूर्पक्षका लागि २३ जना जिल्ला कारागार रुकुम पश्चिममा छन् । उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएपनि अन्य भने धरौटी र साधारण तारेखमा रिहा भइसकेका छन् । 

घटना भएको दुई वर्षसम्म पनि फैसला हुन नसकेको भन्दै छिटो मुद्धा फैसला गरेर पिडित परिवारलाई न्याय दिन दवाव दिने उदे्श्यले विभिन्न संघ संस्थाको आयोजनामा भेरी नदी किनारामा जात व्यवस्था विरुद्ध भेरी प्रतिरोध मार्च आयोजना गरिएको हो । आयोजकमा प्रतिरोध, कर्णाली थिएटर मुगु र वृहत्त नागरिक आन्दोलन रहेका छन् । 

मार्चमा सहभागिहरुले न्याय हाम्रो कता गयो भेरीले बगायो, जात व्यवस्था अन्त्य गर, पिडितलाई न्याय दे जस्ता नारा लगाएका थिए । कार्यक्रममा विभिन्न अधिकारकर्मी तथा पिडितका परिवार र अन्यको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले तत्कालै मुद्दाको अन्तिम फैसला गरी पिडितलाई न्याय दिन माग गरेका थिए । 

लामो समयसम्म पनि मुद्दा नटुंगिनुले न्याय नपाईने त होईन भन्ने चिन्ता बढ्दै गएको भन्दै यसतर्फ सरोकारवालाको ध्यानाकर्षण गराईएको थियो । नवराज बिकका बुवा मनलाल नेपालीले न्याय नपाएसम्म चुप लागेर नबस्ने बताउनुभयो । छोरा र उसका साथीहरुका हत्यारालाई कडा सजाय नतोकिएसम्म पछि नहट्ने उहाँको भनाई छ । 

कार्यक्रममा वरिष्ठ लेखक खगेन्द्र संग्रौला, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दलित अधिकारकर्मी पार्वती विक शान्ता, लेखक अभय श्रेष्ठ, नेपाल पत्रकार महांसघ रुकुम पश्चिमका पूर्व अध्यक्ष तथा दलित अधिकारकर्मी गणेश विक चिन्तन, नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्रविक्रम शाह, दलित अधिकारकर्मी शिला नेपाली, प्रतिरोधका प्रमोद धिताल लगायतले बोल्नुभएको थियो । 

कार्यक्रममा जात व्यवस्था विरुद्धका विभिन्न कलाहरु पनि प्रस्तुत गरिएको थियो । त्यस्तै सोती घटनालाई झल्को दिने प्रतिकात्मक नाटक पनि प्रस्तुत गरिएको थियो । जाजरकोटको कालेगाउँ स्थित भेरी किनारमा आयोजित कार्यक्रममा पत्रकार प्रेम विश्वकर्माको स्वागत मन्तव्य रहेको थियो भने पत्रकार कालीबहादुर बिकले कार्यक्रम संचालन गर्नुभएको थियो । 

२०७७ जेठ १० गते आफ्नी प्रमिकालाई लिन सोती गाउँ गएका नवराज संगै २० वर्षिय टीकाराम नेपाली, १९ वर्षिय गणेश बुढा, १८ वर्षिय लोकेन्द्र सुनार, २० वर्षिय सञ्जु विक र १७ वर्षिय गोविन्द शाही मारिएका थिए ।    
 

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update