Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद कामी बुढाको तस्बिर साक्षी राखेर सपथ ग्रहण
सपथ ग्रहण गर्दै जनप्रतिनिधि ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । मुसीकोट नगरपालिका वडा नम्बर ५ मा रहेको सहिद प्रतिष्ठानको सभाहलमा नगर प्रमुख महेन्द्र केसीबाट नगर उप प्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । उप प्रमुख विमलकुमार पुन, वडा नम्बर ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडाका अध्यक्ष तथा सदस्य र अन्य वडाका सदस्यहरुले सहिद कामी बुढाकाे फाेटाे साक्षी राखेर सपथ लिए ।

मुसीकोट नगरपालिकाको सपथ २ चरणमा भएको छ । कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने ९ गते सोमबार सपथ लिएका थिए । नेकपा माओवादी केन्द्रले मतगणनामा धाँधली भएको भन्दै निर्वाचन परिणामप्रति असन्तुष्टि जनाएको छ । यसअघि नै सदरमुकाममा विजय तथा विरोध र्याली निकाल्दै माओवादी केन्द्र र एकीकृत समाजवादीले जेठ ९ गते सोमबारका लागि आयोजित सपथ ग्रहणमा सहभागि नहुने बताएका थिए ।

नगर प्रमुखले सथप ग्रहण गरेको ७ दिनभित्र अन्य जनप्रतिनिधिले सपथ ग्रहण गरिसक्नुपर्ने प्रावधान छ । नगर प्रमुख केसीले सपथ लिएको ७ दिन भोली पुग्दै छ । त्यसको एक दिन अगाडी नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका ४० जना जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । नगर सभामा नगर प्रमुख सहित नेपाली कांग्रेसबाट २९ जना, नेकपा एकीकृत समाजवादीबाट उपप्रमुख, नेकपा माओवादी केन्द्रबाट ८ वडाध्यक्ष सहित ३९ जना र नेकपा एमालेबाट ३ जना सदस्य छन् ।    
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update