रुकुम पूर्वको भूमेलाई स्वास्थ्य बीमायुक्त गाउँपालिका बनाउने निर्णय भएको छ । गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य बीमा अनिवार्य गराउने घोषणा गर्नुभएको छ । पदभार ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भूमेबासी सबैको स्वास्थ्य बीमा गराउने घोषणा गर्नुभएको हो ।
सक्ने जति सबैले आफै बनाउने र नसक्नेहरुको स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिने गरी निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । गरीब, अति विपन्न, जनयुद्ध, जनआन्दोलनका घाइते, असहाय, सहिद परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिने र अरु सबै जना पनि स्वास्थ्य बीमाको पहुँचमा आउने गरी निर्णय भएको हो ।
यसका लागि अबको कार्यपालिका बैठकले आवश्यक निर्णय, कार्यविधि बनाउने र कार्यान्वयनमा लैजाने अध्यक्ष श्रेष्ठले बताउनुभयो । पदभार ग्रहणका क्रममा अध्यक्ष र उपाध्यक्ष सविना बुढाले यही एउटा घोषणा मात्रै गर्नुभएको हो ।