Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकाेट ८ मा आलु खेतीमा फौजी किराको प्रकाेप
फाैजी किराले क्षेति गरेकाे आलु बारी

रुकुम पश्चिमको मुसीकोट नगरपालिका ८ मा लगाईएको आलु खेतीमा फौजी किराले क्षति गर्न थालेपछि किसान चिन्तित बनेका छन् । दाना लाग्ने बेला भएको आलु खेती सुक्दै जान थालेपछि किसान चिन्तित बनेका हुन् । फौजी किराको आक्रमणबाट त्यस क्षेत्रमा लगाईएको बर्षे आलु खेतीमा क्षति पुगेको वडा सदस्य हिमकुमार पाण्डेले जानकारी दिनुभयो । आलु उत्पादनका लागि उत्कृष्ट मानिएको उक्त क्षेत्रलाई सरकारले आलु पकेट क्षेत्र घोषणा गरेको छ ।

वडा सदस्य पाण्डेका अनुसार फाैजी किराले आलु पकेट क्षेत्र लसुनबारी, पाखापानी, झिम्मा, क्वाम्मा, घोरखानी, काप्रीबास लगायतका टोलहरुमा लगाईएको आलुमा क्षति पुर्याएको छ । फौजी किराले दाना लाग्ने बेला भएका आलुमा क्षति पुर्याएको स्थानियले बताएका छन् । किराले आलुको पात र डाँठमा आक्रमण गरेर बोट सुक्दै जान थालेका छन् ।

ठुलो मात्रामा लगाइएको आलु खेती दाना लाग्ने बेलामा सुक्दै गएपछि वीउ पनि नउठ्ने भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । मुसीकोट नगरपालिकाले आलुको उत्पादन क्षेत्र भएकोले किसानहरुलाई अनुदान दिएर सहयोग गरेको थियो । नगरपालिकाका कृषि शाखा प्रमुख प्रेमबहादुर खत्रीले त्यस क्षेत्रको करिब १० हजार हेक्टर जमिनमा आलु खेती गरिएको जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update