Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा कार्यपालिकाको पहिलो निर्णयः विशेष समस्यामा रहेका सबैलाई निःशुल्क एम्बुलेन्स सेवा
नव निर्वाचित अध्यक्ष घर्ती र उपाध्यक्ष बुढा ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले समस्यामा रहेका सबैलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ । सहिद तथा बेपत्ताका परिवार, घाइते, अपांग, जेष्ठ नागरिक अति अशक्त, गर्भवती, सुत्केरी, हिंसा पीडित महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय पहिलो गाउँ कार्यपालिका बैठकले गरेको हो ।

पहिलो कार्यपालिका बैठकले गाउँपालिका भित्रका नियमित औषधी सेवन गर्ने सबै उमेर समूहका दीर्घ रोगीलाई निःशुल्क औषधी उपलब्ध गराउने निर्णय पनि गरेको छ । गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, उपाध्यक्ष भूपेन्द्रा बुढा मगरको पदभार ग्रहणपछि बसेको कार्यपालिका बैठकले गाउँपालिकाका प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

कार्य सम्पादनमा समस्या भएकाले प्रशासनिक भवन निर्माणको कार्य तत्कालै अघि बढाउने गरी कार्यपालिकाले निर्णय गरेको हो । आधारभुत स्वास्थ्य केन्द्रका भवन नभएका सबै वडामा पनि भवन निर्माणको काम अघि बढाउने निर्णय भएको अध्यक्ष घर्तीले बताउनुभयो ।

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको कार्यपालिका बैठले थप निर्णयका लागि जेठ १५ गते दोस्रो बैठक डाक्ने निर्णय पनि गरेको कार्यपालिका सदस्य सचिव तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जानकारी दिनुभयो । पुथाउत्तरगंगा गाउँ कार्यपालिकाको पनि निर्वाचन सम्पन्न भइ सबैले यस अघि नै सपथ ग्रहण गरिसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update