२०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रमुख तथा अध्यक्ष पदमा महिलाको सहभागी शून्य देखिएको छ । रुकुम पश्चिमका ६ वटा स्थानीय तह भए पनि महिला प्रमुख तथा अध्यक्ष पदमा महिलाको सहभागिता हुन सकेन । पहिलो पटक २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि प्रमुख तथा अध्यक्ष पदमा महिलाको सहभागी भएको थिएन ।
प्रमुख तथा अध्यक्ष पदमा महिलाले कुनै पालिकामा पनि उम्मेदवारी नदिएपछि स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा अध्यक्षमा महिलाको सहभागीता भएको थिएन । पालिका उप प्रमुख तथा उपाध्यक्षमा भने ५ वटा पालिकामा स्थानीय तहको निर्वाचनमा महिला निर्वाचित भएका छन् । चौरजहारी नगरपालिकाको उपप्रमुखमा मा इश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरपालिका उपप्रमुखमा धनकुमारी शाही, सानीभेरी गाउँपालिकामा कमला रोका पुन, बाँफिकोट गाउँपालिकामा तारा बुढा केसी, त्रिवेणी गाउँपालिकामा राजकुमारी रेउले निर्वाचित भएका छन् ।
यी ५ वटै स्थानीय तहमा निर्वाचित भएका उप प्रमुख तथा उपाध्यक्ष माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिकाको उपप्रमुखमा भने माओवादी केन्द्र र एकीकृत नेकपा समाजवादीको गठबन्धनबाट विमलकुमार पुन निर्वाचित हुनुभएको छ । मुसीकोटमा एमालेको तर्फबाट अन्जना चन्द गौतम, चौरजहारीमा डण्डी कार्कीले प्रमुखमा उम्मेदवारी दिएपनि नाम फिर्ता लिइएको थियो । आठबीसकोटको नगरप्रमुखमा एमालेको तर्फबाट कृष्णाकुमारी मल्लको उम्मेदवारी कायमै भएपनि एमाले कांग्रेस गठबन्धनका कारण मल्लको पक्षमा मत आएन ।