जिल्लाभर ब्याडमिन्टनप्रतिको आकर्षण बढेको छ । पालिकैपिच्छे नयाँ खेलाडी छन् । कोर्ट बनेका छन् । खेल चलेको छ । जिल्ला सदरमुकाम खलंगामा झन यसको आकर्षण धेरै देखिन्छ । ठाउँ ठाउँमा कोर्ट बनेका छन् । विभिन्न पेशा, व्यवसायमा लागेकाहरु स्वास्थ्यका लागि भन्दै ब्याडमिन्टन खेलिरहेका छन् । तर यो खेल इन्डोर हो । अर्थात यो खेल बन्द कवर्डहल भित्र खेलिन्छ । यस जिल्लाका खेलाडीका लागि भने यो खेल आउटडोर भएको छ । सबै खेल आउटडोर नै भइरहेका छन् ।
ठूला प्रतियोगिता नै आउटडोरमा
२०७५ माघ २० देखि २३ गते सम्म जिल्लामा खुला ब्याडमिन्टन प्रतियोगिता भयो । खुला स्थानमै ब्याडमिन्टन प्रतियोगिता भयो । इन्डोर खेलीने यो खेल गत वर्ष पनि आउटडोर नै सञ्चालन भयो । कर्णाली प्रदेशमै सर्वाधिक ५१ हजार पुरस्कार राशिको यो प्रतियोगिता २०७६ मा माघ २२ देखि २५ गते सम्म चल्यो । यो पनि खुला ठाउँमै खेलाइयो । आयोजक जिल्ला ब्याडमिन्टन संघले हावा र सूर्यलाई त्रिपालले छेक्ने प्रयास गरेर तीन दिन खेल खेलायो । अन्य समयमा जिल्लामा आयोजना हुने इन्डोर खेल पनि यसरी नै आउटडोर खेलाउने गरिएको छ । इन्डोरमा हुने ब्याडमिन्टन मात्रै होइन अरु खेल पनि आउटडोरमै भइरहेका छन् । भलिबल, कराँते, तेक्वान्दो लगायतका खेल खुलामै खेल्नु र सिक्नुपर्ने बाध्यता छ ।
कभर्ड हल अभावमा खेल तथा खेलाडीहरु प्रभावित भइरहेका छन् । जिल्लाभर एउटा पनि कभर्ड हल छैन । यसको मार खेल क्षेत्रमा लागेकाहरुलाई परिरहेको छ । व्यक्तिगत रुपमा लगानी गरेर कभर्ड हल बनाउन सम्भव भएन । सरकारले कभर्ड हल बनाउनमा ध्यान नदिएको खेलाडीको गुनासो छ । कभर्ड हल नहुँदा जिल्लामा इन्डोर खेल पनि आउटडोर जस्तै गरी खुला क्षेत्रमा खेल्नुरखेलाउनु परिरहेको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढाले बताउनुभयो । ‘पछिल्लो समय ब्याडमिन्टनप्रति जिल्लामा ठूलो क्रेज देखिन्छ,’ बुढाले भन्नुभयो, ‘तर इन्डोर खेल आउटडोरमा खेल्दा लय नै विग्रने भइरहेको छ ।’ ब्याडमिन्टन मात्रै नभएर इन्डोरमा खेलीने अरु खेल र त्यसका खेलाडी ठूलो समस्यामा परिरहेको बुढाको भनाई छ ।
कभर्ड हल निर्माणमा चासो पुगेन
कभर्ड हल बनाउन स्थानीय तह, प्रदेश तथा संघीय सरकारसम्म माग र गुनासा नपुगेका पनि होइनन् । तर त्यसको सुनुवाई भएको छैन । जिल्ला सदरमुकाम खलंगा स्थित कभर्ड हल पूरा भएको छैन । नयाँ कभर्ड हल नबनेपनि पूरानैलाई पूर्ण बनाउने माग जिल्ला स्थित खेल क्षेत्रसँग सम्बन्धितको छ । तर यो मागको पनि सम्बोधन भएको छैन । २०७२ सालमा तत्कालिन युवा तथा खेलकुद मन्त्री कमला रोकाको पालामा ७० लाख रुपैयाँमा निर्माण थालिएको सेमी कभर्ड हलले पूर्ण आकार ग्रहण गरेको छैन । उतिबेलाको डिजाइन स्टामेट अनुसारकै काम सम्पन्न भएपनि इन्डोर खेल खेलाउने गरी भने संरचना बनेको छैन । लामो समयदेखि काम पुरा हुन नसकेको यहीलाई पूर्ण बनाउदा पनि धेरै सजिलो हुने अवस्था देखिन्छ । अपूरो रहेको यो संरचनामा सजिलै घाम, पानी तथा हावा पस्ने खालको छ ।
बजेट आयो काम भएन
आर्थिक वर्ष २०७६/०७७ मा बह्राटाकुराको अधुरो कभर्ड हल पूरा हुने अपेक्षा थियो । ५१ लाख बजेट पनि आएको थियो । जिल्ला खेलकुद विकास समितिले बह्राटाकुराकै कभर्ड हल पूरा गर्ने गरी बजेट आएको बतायो । तर उक्त बजेट आयो तर काम हुन सकेन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणाका लागि लकडाउन भएपछि आएको बजेटबाट काम हुन नसकेको बताइएको छ । उक्त सेमी कर्भडहलको चारैपट्टि इट्टाको दोहोरो भित्ता लगाउने, सिसाका झ्याल सहित इन्डोरमा भलिबल ट्रेनिङ, २ वटा ब्याडमिन्टन कोर्टको साथै तेक्वान्दो र कराँतेका खेल हुने गरी कभर्ड हलको व्यवस्थापन गर्ने योजना र डिजाइन स्टामेट समेत राखेपमा पठाइएको थियो । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छवि केसीले जिल्लाको कभर्ड हल र चौरजहारीमा समेत आएको बजेट लकडाउनका कारण फ्रिज भएको बताउनुभयो । चालु आर्थिक वर्षमा कभर्ड हल बन्ने उहाँले जानकारी दिनुभयो ।