७५ हजार पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । जनयुद्ध दिवशको अवसर पारी रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, पिपल जिपुमा खुला वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोगमा स्यार्पू खेलकुद विकास समिति बाँफिकोटले प्रतियोगिता आयोजना गरेको हो ।
फागुन १ गते उद्घाटन हुने खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७५ हजारको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले नगद ५५ हजारको साथमा मेडल र प्रमाण पत्र पाउने छ भने तेस्रो हुने टिमले ३५ हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
महिलातर्फको खुला वडा स्तरीय भलिबलतर्फ प्रथम आउने टिमले ६६ हजार ६ सय ६६ को साथमा कप, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो आउने टिमले ४६ हजार ६ सय ४६ हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । तेस्रो आउने टिमलाई ३३ हजार ३ सय ३३ नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।
खुला महिला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता, सटफुट र रस्साकस्सी प्रतियोगिता पनि आयोजना गरिएको आयोजक स्यार्पू खेलकुद विकास समितिका सचिव लालबहादुर केसीले जानकारी दिनुभयो । बाँफिकोट गाउँ कार्यपालिकाको निर्णय अनुसार पिपलमा गत वर्षदेखि जनयुद्ध दिवशको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो । उक्त ठाउँमा जनवादी मेला भने जनयुद्धको बेलादेखि नै लाग्दै आएको छ ।