रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० का हरेक घरमा जस्ताका छाना लगाइने भएको छ । खरले छाएका सबै घरमा जस्ताका छाना लगाउने निर्णय भएको छ । नवनिर्वाचित वडाध्यक्ष तथा वडा सदस्यको पदभार ग्रहण लगत्तै बसेको वडाको बैठकले वडालाई खरको छानामुक्त बनाउने निर्णय गरेको हो ।
हरेक हिसबाट जोखिम हुने भएकाले खरका छाना हटाएर जस्ताका छाना हाल्ने र त्यसका लागि बजेट व्यवस्थापनको पहल थालि सकिएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । पहिलो बैठकले वडाका हरेक जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । हरेक तीन महिनामा सबै जेष्ठ नागरिकको घरमा पुगेर सुगर, प्रेसर र अक्सिजनको लेवल नाप्ने अनि सोही अनुसारको परामर्श तथा उपचार प्रवाह गर्ने निर्णय पनि गरेको छ ।
पशु र कृषि मार्फत वडाबासीलाई सम्पन्न बनाउने उद्देश्य पुर्ति गर्न तथा कृषि, पशु पालनमा आकर्षण गर्न कुषि र पशु बीमा गरिदिने निर्णय पनि भएको वडाध्यक्ष खड्काले बताउनुभयो । यसबाट कृषकलाई प्रोत्साहन प्राप्त हुने र उत्साह पैदा हुने विश्वास लिइएको उहाँको भनाई छ । राज्यबाट कुनै प्रकारको आर्थिक सेवा नलिइरहेका दिर्घ रोगी, विपन्नको स्वास्थ्य बीमा पनि वडा कार्यालयले गरिदिने निर्णय भएको छ । वडामा ५ टोल छन् । ५ टोलका ५ ठाउँमा फ्रि वाइफाइ जडान गरिदिने निर्णय पनि वडाको पहिलो बैठकले गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।
सबै टालमा रहेका टोल विकास संस्था पुर्नगठन गर्ने र त्यसैबाट टोलको समग्र विकास, योजना तथा रिर्पोटिङ गर्ने र योजना बनाउने निर्णय पनि भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, मुसीकोट नगर उपप्रमुख विमलकुमार पुन, माओवादीका नगर अध्यक्ष धिरण शिर्पाली लगायतको उपस्थितिमा पदभार ग्रहणको कार्यक्रम भएको थियो । नवनिर्वाचित वडाका प्रतिनिधिको टोलीले निवर्तमाण अध्यक्ष गोपेश्वर केसी र अरु सदस्यलाई विदाई पनि गरेको छ ।