Kakhara सबैको खबर सम्पूर्ण खबर
नीति, कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रीत हुने आठबीसकोट नगर कार्यपालिका पहिलो बैठकको निर्णय
आठबीसकोट नगर कार्यपालिकाको कार्यालय ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका बजेट निर्माणमा केन्द्रीत हुने भएको छ । नव निर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको तयारी गर्ने निर्णय गरेको हो । त्यसका लागि आवश्यक समिति गठन गरी कार्यान्वयनमा जाने निर्णय भएको नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।

स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति र योजना अनुगमन समिति गठन गरिएको छ । नीति, कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रीत भएर निर्णय गरेको र काम पनि त्यसरी नै अघि बढ्ने निर्णय भएको प्रमुख केसीले बताउनुभयो । 

नगरप्रमुख केसीको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति गठन भएको छ । समितिको सदस्यमा उपप्रमुख धनकुमारी शाही, देवबहादुर यरी, खम्मे कुसारी, सदिक्षा मल्ल, नरसिङ विष्ट सदस्य छन् । उपप्रमुख धनकुमारी शाहीको संयोजकत्वमा स्थानीय राजश्व परामर्श समिति बनेको छ । सदस्यमा हिरा थापा र जनकबहादुर बटाला छन् ।

उपप्रमुख शाहीकै संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति बनेको छ । समितिको सदस्यमा देवबहादुर घर्ती, घनश्याम भण्डारी, अमृत बुढा, रत्ने कामी, टेकबहादुर थापा र प्रेमबहादुर पुन सदस्य छन् । उपप्रमुख शाहीकै नेतृत्वमा योजना अनुगमन समिति बनेको छ । सदस्यमा खगेन्द्र विक र सर्जने कामी छन् । बैठकले नगरप्रमुख उपप्रमुखले पदभार ग्रहणका क्रममा गरेको निर्णयलाई अनुमोदन गरेको छ । नगरभित्रका कृषि तथा पशुको तथ्याङ्क संकलनको निर्णय पनि गरेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहको संयोजकत्वमा विद्यालय अनुगमन तथा कार्यसम्पादन मूल्याकन गर्ने निर्णय भएको छ । नगर अस्पताल, सहरी स्वास्थ्य केन्द्रको अनुगमन गर्ने र प्रतिबेदन बुझाउने निर्णय पनि भएको छ । बैठकले असार ८ गते पहिलो नगर सभा गर्ने निर्णय पनि गरेको छ । ३ नम्बर वडाको चोबाखोलामा काठे पुल निर्माण गर्ने, गणतन्त्र दिवशको अवसरमा राडी र सिमबजार सरसफाई गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update