रुकुम पश्चिममा खुला पुरुष तथा महिला डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बाँफिकोट गाउँपालिका २, मा पुरुष तथा महिला डबल ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । फागुन १ गतेदेखि हुने प्रतियोगितामा बाँफिकोट गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने स्यार्पू खेलकुद विकास समिति बाँफिकोटले प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको प्रथम आउने जोडीले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । दोस्रो हुने जोडीले नगद २० हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा तेस्रो हुने जोडीलाई १३ हजार ३ सय ३३ रुपैयाँ नगदका साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
महिला डबल ब्याडमिन्टनतर्फ प्रथम हुने जोडीले नगद १३ हजार ३ सय ३३ को साथमा कप, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने जोडीले नगद दश हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने तेस्रो हुने जोडीलाई नगद ६ हजार ६ सय ६६ को साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
जनयुद्ध दिवशको अवसरमा पिपलमा लाग्ने जनवादी मेलाको अवसर पारी प्रतियोगिता आयोजना गरिएको आयोजक स्यार्पू खेलकुद विकास समितिका अध्यक्ष जनक मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि सबै खेलाडी तथा खेलप्रेमीलाई अनुरोध गरिएको अध्यक्ष मल्लले बताउनुभयो । उक्त अवसरमा खुला पुरुष तथा महिला भलिबल, सटफुट तथा रस्साकस्सी प्रतियोगिता पनि आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । जनयुद्ध दिवशको अवसरमा पिपलमा लाग्ने जनवादी मेलामा विविध खेलकुद कार्यक्रम गर्ने निर्णय गत वर्ष नै बाँफिकोट गाउँ कार्यपालिकाले गरेको थियो ।