विगत लामो समय देखि बन्द रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको चौरजहारी विमानस्थलको स्तरोन्नति गरिने भएको छ । यसका लागि सरकारले बजेट विनियोजन गरेको छ । लामो समय देखि बन्द रहेको विमानस्थल सुचारुका लागि स्थानीय स्तरबाट माग भइरहेका बेला सरकारले विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको हो । अव विमानस्थललाई बढाएर हालको भन्दा ठुलो बनाईने छ ।
चौरजहारी विमानस्थल सहित सरकारले दाङको टरिगाउँ, टिकापुर, डडेलधुरा र बाग्लुङ विमानस्थलको पनि स्तरोन्नतिका लागि बजेटको व्यवस्था गरेको छ । त्यस्तै उदयपुर विमानस्थलकाे निर्माण थालिने छ । यसका लागि १२ अर्व २४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत बजेटमा उल्लेख छ । रुकुम, सल्यान र जाजरकोटलाई लक्षित गरेर २०२८ सालमा स्थापना भएको चौरजहारी विमानस्थल ४४ वर्ष पछि २०७३ मा स्तरोन्नति गरी पक्कि बनाईएको थियो ।
नागरीक उड्यन प्राधिकरणको ५ करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाको लागतमा बिमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । तर करोडौ खर्चमा बिमानस्थल स्तरोन्नति गरिएपनि केही समय सञ्चालन भएर रोकिएको हो । हालसम्म पनि संचालन हुन सकेको छैन् ।