Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिका अध्यक्षको सम्पतिः एउटा कच्चि घर, २ वटा सहकारीमा ३५ हजार शेयर लगानी
सम्पति विवरण सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष विष्ट ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर बिष्टले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुभएको छ । अध्यक्ष विष्टले आज गाउँकार्यपालिकाको कार्यालय सिम्लिमा पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो र श्रीमतिका नाममा रहेको सम्पति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका नाममा सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा १ सय ५५ वर्गमिटर क्षेत्रफलमा बनेको एउटा कच्चि घर रहेको छ । सानीभेरी ३ मा ३ सय ७५ वर्गमिटर पाखो जग्गा पनि आफ्नो नाममा रहेको उहाँले जानकारी दिनुभयो ।

सानीभेरी बचत सहकारी संस्थामा १५ हजार र सानीभेरी जनप्रवाह कृषि सहकारी संस्थामा २० हजार गरी कुल ३५ हजार शेयर रहेको उहाँले बताउनुभयो । अध्यक्ष विष्टले श्रीमतिको नाममा सानीभेरी ३ को पेदी बजारमा १० लाख ५० हजारको कस्मेटिक रहेको उहाँले जानकारी गराउनुभयो । त्यस्तै सम्पतिका नाममा आफ्नो, श्रीमतिको छोरा छोरीको गरेर ४ वटा स्मार्ट मोबाईल फोन रहेको पनि उहाँको भनाई छ । साथै अध्यक्ष विष्टको नाममा ११ लाख ५० हजार ऋण रहेको छ ।

नियमित किस्ता तिरिरहेको र यो रकम घट्दो क्रममा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सनराइज बैंकमा १० लाख ऋण रहेकामा मासिक किस्ता तिरिरहेको र हाल ७ लाख जति ऋण बाँकी रहेको छ । त्यस्तै सानीभेरी ऋण तथा बचत सहकारीमा १ लाख ५० हजार ऋण रहेको र यो ऋण पनि किस्ता किस्तामा तिरिरहेको उहाँले बताउनुभयो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार आफ्नो र परिवारका सदस्यका नाममा रहेको सम्पति विवरण सार्वजनिक गरेको उहाँको भनाई छ । अव गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालका सदस्यहरुको सम्पति विवरण पनि सार्वजनिक हुने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update