रुकुम पश्चिमको त्रिवेणी गाउँकार्यपालिकाको पहिलो बैठक बसेको छ । आज गाउँकार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । कार्यपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि जेठ २७ गतेसम्म वस्तिस्तरको योजना छनौट गर्ने निर्णय गरेको छ ।
सबै वस्तीमा योजना छनौट सकिएपछि असार १ गतेसम्म वडास्तरबाट योजना प्राथमिकरण गरी गाउँपालिकामा पेश गर्ने, असार ५ गतेसम्म एकीकृत योजना तर्जुमा समितिमा पेश गर्ने र असार ६ गते गाउँकार्यपालिकाबाट योजना स्वीकृत गर्ने गरी कार्यपालिकाले समय तोकेको छ ।
त्यस्तै कार्यपालिका बैठकले संघीय सरकारबाट हस्तान्तरित सशर्त अनुदान अन्तर्गत पर्यटन पूर्वाधार निर्माणका लागि प्राप्त बजेटबाट सञ्चालन गरिने योजनाको सम्भाव्यता अध्ययनका लागि उपसमिति गठन गरिएको छ । वडा नम्बर १ का अध्यक्ष सुन्दर ओलीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई सम्भाव्यता अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिईएको छ ।
चालु आर्थिक वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बालविकास आधारभूत विद्यालय त्रिवेणी–१० भानिपोलेको २ कोठे भवन निर्माण गर्ने भनी छनोट गरिएकोमा उक्त विद्यालयमा उच्च पहाडी तथा हिमाली क्षेत्र समृद्धि कार्यक्रमबाट ४ कोठे भवन निर्माण भइरहेकोले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट निर्माण हुने २ कोठे विद्यालय भवनका लागि बालविकास केन्द्र त्रिवेणी १० सालघारीलाई छनोट गरिएको छ ।
साथै वडा नम्बर ३ खारानेटास्थित गाउँपालिकाको नाममा रहेको जग्गामा खारा दोखोली खानेपानी आयोजना उपभोक्ता समितिलाई १४ घनमिटर क्षमताको खानेपानीको ट्यांकी निर्माणका लागि जग्गा प्रयोग गर्न दिने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । बैठकले गाउँपालिकाको हालसम्मको प्रगतिको समिक्षा समेत गरेको छ ।