रुकुम पश्चिमको मुसीकोट नगरकार्यपालिकाका लागि १७ जनाको उम्मेदवारी परेको छ । ८ जना नगरकार्यपालिका सदस्यका लागि आज १७ जनाको मनोनयन परेको हो । नेकपा माओवादी केन्द्रबाट ८ जना, नेपाली कांग्रेसबाट ७ जना, नेकपा एमालेबाट १ जना र स्वतन्त्रबाट १ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रबाट दलबहादुर परियार, निर्मला नेपाली, राजु विक, निर्मला रसाईली विश्वकर्मा, रचना पुनमगर, ललिता सिर्पाली, दिलमाया खड्का ओली र देवी पुनको उम्मेदवारी परेको छ । त्यस्तै नेपाली कांग्रेसबाट अनिता विक, टेकबहादुर विक, हिरा गहतराज, अञ्जना केसी विसी, खिमाकुमारी केसी, धनमाया नेपाली र भवानी शर्माको उम्मेदवारी परेको छ ।
नेकपा एमालेबाट वमकुमारी ओली केसीको उम्मेदवारी पर्दा स्वतन्त्रबाट लोकबहादुर कामीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर कार्यपालिकामा ८ जनाका लागि निर्वाचन हुन लागेको हो । यसअघि वडामा निर्वाचित ५ जना महिला कार्यपालिकामा निर्वाचित हुने व्यवस्था छ भने गैर जनप्रतिनिधिबाट ३ जना दलित तथा अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान छ ।
नगर कार्यपालिकाको सदस्यका लागि नगरसभाका सदस्यहरुले मत हाल्ने छन् । नगरसभामा नेकपा माओवादी केन्द्रको वहुमत छ । नगरसभामा नेकपा माओवादी केन्द्रका ३९ जना, नेपाली कांग्रेसका २९ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीका १ जना सदस्य रहेका छन् । मुसीकोट नगर कार्यपालिकाको निर्वाचन जेठ १९ गते हुने छ ।