रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि संघीय सरकारबाट सवा २ अर्व बढी बजेट आउने भएको छ । संघीय सरकारले विभिन्न शिर्षकमा २ अर्व २६ करोड ७४ लाख बजेट पठाउने भएको हो ।
यो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान मार्फत आउने छ । सबै भन्दा बढी बजेट जिल्ला सदरमुकाम समेत रहेको मुसीकोट नगरपालिकामा आउने छ । यो नगरपालिकामा ५४ करोड ८४ लाख बजेट आउँन लागेको हो ।
जसमा समानीकरण अनुदान वाफत १२ करोड ३५ लाख, सशर्त अनुदान वाफत ३८ करोड ७२ लाख, विशेष अनुदान वाफत २ करोड ३९ लाख र समपूरक अनुदान वाफत १ करोड ३८ लाख रहेको छ । चौरजहारी नगरपालिकामा ३७ करोड ७० लाख बजेट आउने निश्चित भएको छ ।
यो नगरपालिकामा समानीकरण अनुदान १० करोड ७० लाख, सशर्त अनुदान २४ करोड २९ लाख, विशेष अनुदान २ करोड ५० लाख र समपूरक अनुदान २१ लाख रहेको छ । जिल्लाको अर्को नगरपालिका आठबीसकोट नगरपालिकाले संघ सरकारबाट ३८ करोड ३५ लाख पाएको छ ।
जसमा समानीकरण अनुदान तर्फ ११ करोड ३४ लाख, सशर्त अनुदान तर्फ २३ करोड ३९ लाख, विशेष अनुदान तर्फ १ करोड ६६ लाख र समपूरक अनुदान तर्फ १ करोड ३९ लाख रहेको बताईएको छ । गाउँपालिका अन्तरगत सबैभन्दा बढी बजेट त्रिवेणी गाउँपालिकामा आउने भएको छ ।
समानिकरण अनुदान ९ करोड १ लाख, सशर्त अनुदान २० करोड ४७ लाख, विशेष अनुदान २ करोड ८५ लाख र समपूरक अनुदान १ करोड ९ लाख गरी आगामी वर्षका लागि गाउँपालिकामा जम्मा ३३ करोड ४२ लाख बजेट आउन लागेको हो । बाँफिकोट गाउँपालिकामा ३१ करोड २० लाख बजेट आउँने सुनिश्चित भएको छ ।
बाँफिकोटमा आउँने कुल बजेट मध्ये समानीकरण अनुदान ८ करोड ५३ लाख, सशर्त अनुदान २० करोड ३० लाख, विशेष अनुदान १ करोड ८२ लाख र समपूरक अनुदान ५५ लाख रहेको छ । जिल्लाको अर्को गाउँपालिका सानीभेरी गाउँपालिकामा समानीकरण अनुदान ९ करोड ६१ लाख, सशर्त अनुदान १९ करोड २६ लाख, विशेष अनुदान ८३ लाख र समपूरक अनुदान १ करोड ५३ लाख गरी जम्मा ३१ करोड २३ लाख बजेट आउने भएको छ ।
अव स्थानीय तहलाई प्रदेश सरकारले पनि बजेट पठाउने छ । संघ र प्रदेशबाट आउने बजेट तथा आफ्नो आन्तरिक स्रोतलाई हेरेर स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउनु पर्ने छ । उक्त नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँ तथा नगर सभामा पेश गरिसक्नु पर्छ । त्यसलाई असार मसान्त भित्र पास गर्नुपर्छ ।