रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का सर्वसाधारणले अब पञ्जिकरण सम्बन्धिका कुनै काम गर्दा र मालपोत कर तिर्नु नपर्ने भएको छ । जन्म,विवाह, बसाई सराई तथा मृत्यु दर्ताका लागि वडाबासीले पैसा तिर्नु नपर्ने भएको हो ।
नव निर्वाचित वडाका जनप्रतिनिधिहरुको पहिलो बैठकले पञ्जिकरण सम्बन्धिका कुनै पनि दर्ता र सिफारिस लिए वापत वडाबासीबाट शुल्क नलिने निर्णय गरेको हो । यो शुल्क वडाध्यक्षको सेवा सुविधाबाट पूर्ति गर्ने निर्णय पनि बैठकले निर्णय गरेको छ । पञ्जिकरणको साथै मालपोत कर पनि वडाबासीले तिर्नु नपर्ने निर्णय वडाले गरेको छ ।
मोलपोत सेवा पनि वडाबासीले निःशुल्क नै पाउनेछन् । वडाध्यक्षले मासिक रुपमा गाउँपालिकाबाट पाउने सेवा सुविधा वापतको रकमबाट वडाबासीको सेवा शुल्क तिर्ने गरी यी दुई निर्णय भएका छन् । वडाको पहिलो बैठकले वडामा दर्ता हुने घटनासँग सम्बन्धित कामका लागि वडाले सिफारिस वापतको शुल्क तथा मालपोत कर नलिने र त्यसको शोधभर्ना आफ्नो सेवा सुविधाबाट पूर्ति गर्ने योजना बनाइएको वडाध्यक्ष हरि चन्दले जानकारी दिनुभयो ।
आफूले पाउने सेवा सुविधाबाट नपुग्ने अवस्थामा पनि त्यसको व्यवस्थापन गर्ने योजना सहित वडाले निर्णय गरेको वडाध्यक्ष चन्दले बताउनुभयो । बैठकले वडा सभा गर्ने, पूराना कामको निरन्तरता दिने, सरकारी भवनमा वडा कार्यालय सार्ने, सर्वदलिय, सर्वपक्षिय बैठक गर्ने र निवर्तमान जनप्रतिनिधिको विदाई गर्ने निर्णय पनि गरेको वडाध्यक्ष चन्दले बताउनुभयो ।