रुकुम पश्चिममा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ सय ५४ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । जसअनुसार जिल्लामा पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य लडेका व्यक्तिको जमानत जफत भएको छ । जिल्लाका ६ वटा स्थानीय मध्येमा सबै भन्दा बढी बाँफिकोट गाउँपालिकामा ४३ जनाको धरौटी जफत भएको छ ।
आठबीसकोट नगरपालिकामा ३६ जना, चौरजहारी नगरपालिकामा २७ जना, त्रिवेणी गाउँपालिकामा २४ जना, सानीभेरी गाउँपालिकामा १३ जना र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ११ जनाको धरौटी गुमेको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले जानकारी दिनुभयो । जमानत जफत हुनेमा आठबीसकोट नगर कार्यपालिकाको निर्वाचनमा प्रतिस्पर्धा गरेका ३ जना पनि छन् । जिल्लामा कुल ३ सय ७७ पदका लागि १ हजार १ सय ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
जमानत जफत हुनेमा ६ जना नगर प्रमुखका उम्मेदवार, ३ जना उपप्रमुखका उम्मेदवार, ८ जना गाउँपालिका अध्यक्षका उम्मेदवार र ३ जना उपाध्यक्षका उम्मेदवार रहेको जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । त्यस्तै ७३ वडाका लागि प्रतिस्पर्धा गरेका ४३ जना वडाध्यक्षले जमानत जोगाउन सकेनन् । बाँकी जमानत गुमाउनेमा वडा खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्य रहेका छन् । सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।
जिल्ला भरमा एमालेका ६५ जना उम्मेदवारले धरौटी बचाउन सकेनन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ३१, नेकपा एकीकृत समाजवादीका २०, नेपाली कांग्रेसका १७, स्वतन्त्र १०, मंगोल नेशनल अर्गनाईजेशनका ५, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ३÷३ जनाको जमानत जफत भएको हो । जिल्लामा माओवादीका भने कुनै पनि उम्मेदवारको जमानत जफत भएको छैन् ।
पू्र्ण विवरणः