संवैधानिक परिषद्मा असंवैधानिक नियुक्ति र सपथ ग्रहण विरुद्ध आज देशैभर आमहड्ताल घोषणा गरिएको छ । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज एक दिनका लागि आहमड्ताल आह्वान गरेको हो । आज सार्वजनिक तथा निजी सवारी, कुनैपनि प्रकारका व्यवसाय तथा व्यापार बन्द हुने नेकपाले जनाएको छ ।
आम हड्तालको प्रभाव रुकुम पश्चिममा पनि परेको छ । विहानैदेखि चल्नुपर्ने सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, व्यापार पनि खुलेका छैनन् । पार्टीले सरकारको असंवैधानिक कदमका विरुद्ध आमहड्ताल आयोजना गरिएकाले यसलाई सघाउन सबै पक्षलाई आग्रह गरेको छ । आमहड्ताल घोषणा गरिएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरी जिल्ला सदरमुकाम खलंगामा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । नेकपाले जिल्लाका सबैतिर आमहड्ताल हुने र यसमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
रुकुम पूर्वमा राँके जुलुस
आमहड्तालको पूर्व सन्ध्यामा रुकुम पूर्वमा राँके जुलुस निकालिएको छ । नेकपा तथा राष्ट्रिय युवा संघले अस्थायी सदरमुकाम रुकुमकोटमा बुधबार बेलुकी राँके जुलुस निकालेका हुन् । आमहड्ताललाई सफल बनाउन राँके जुलुस निकालिएको उनीहरुको भनाई छ । युवा संघका संयोजक तिलक रेउले भाष्करले सरकारले गरेका सिलसिलवार असंवैधानिक कदमका विरुद्ध राँके जुुलुस गरिएको र आजको आमहड्तालको कार्यक्रम गरिएको बताउनुभयो । आम हड्तालको कारण रुकुम पूर्वमा पनि विहानैदेखि यातायातका साधन चलेका छैनन् ।