रुकुम पश्चिममा अपाङ्गता भएका व्यक्तिहरुको लागि क्षमता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने विभिन्न संघ संस्थाहरुको समन्वय र सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आयोजनामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार, उनिहरुले सम्बन्धित निकायमा गर्न पाउने दावी, स्वास्थ्य लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षक गणेशबहादुर केसीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार, कानुनी प्रक्रिया, व्यहोर्नु परेका समस्या, अपाङ्गमैत्री संरचनाको बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै जिल्लामा अपाङ्गता भएका व्यक्तिको अवस्था र उनिहरुको क्षमता विकासको लागि भएका कामको बारेमा पनि जानकारी दिनुभयो । त्यस्तै अर्का प्रशिक्षक अकविर घर्तीले स्वास्थ्य सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको छ । उहाँले पोषण, यौन स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य, कोरोना लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य समस्या देखिने र ति समस्याको पहिचान गर्न समस्या हुने भएकाले कसरी स्वास्थ्य समस्याको पहिचान गर्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्लाका तिन पालिका अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । जिल्लाका बाँफिकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
३० जनाको सहभागिता रहेको सामाजिक विकास कार्यालयका प्रमुख धनन्जय आचार्यले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी लालसिङ खड्काको अध्यक्षतामा तालिम उद्घाटन भएको थियो । तालिममा मुसीकोट नगरपालिका महिला, बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख भावना शाह लगायतको आतिथ्यता रहेको थियो ।