स्थानीय तहको दोस्रो निर्वाचनका क्रममा नेकपा माओवादीबाट मुसीकोट नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरु कामी गाउँ भेला छन् । माओवादी केन्द्रका नेताहरु सहित वडाध्यक्ष, वडा सदस्यमा निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु दुई दिनदेखि रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ कामी गाउँमा छन् ।
कामी गाउँलाई माओावदीले एतिहाँसिक गाउँ मान्छन् । जनयुद्ध सुरु हुनु पूर्व पनि यो गाउँमा माओवादीको विशेष इलाका थियो । जनयुद्धका क्रममा पनि यो गाउँमा माओवादीले धेरै निर्णय गरेको, बैठक तथा भेला गरेका थिए । कम्युनिष्ट सहिद कामी बुढाको बसोबास भएको, कामी बुढाका आफन्त र परिवारजन बसेको कारणलाई यसलाई कामी गाउँ नामाकरण गरिएको थियो । माओवादीले नै यसलाई कामी गाउँ नामकरण गरेर आफ्ना गतिविधि चलाउँदै आएको थियो ।
को को छन् कामी गाउँमा ?
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा माओवादीबा उम्मेदवार बनेर मुसीकोट नगरपालिकामा निर्वाचित बनेका सबै जनप्रतिनिधिहरु त्यहाँ पुगेका छन् । वडा नम्बर ४, ६,७, ९, १०, ११, १२ र १३ नम्बर वडा अध्यक्ष र वडा सदस्यहरु कामी गाउँमा छन् । ‘निर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमुखिकरण’को आयोजना गरी माओवादी नगर समितिले उनिहरुलाई कामी गाउँ सम्म पुर्याएको छ ।
त्यहाँ जनप्रतिनिधिका अलावा माओवादीका नेताहरु पनि छन् । केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, केन्द्रीय सल्लाहकार तथा मुसीकोट नगरका निवर्तमान प्रमुख देविलाल गौतम, पार्टीका जिल्ला संयोजक गोविन्द रोका, कर्णाली प्रदेश सदस्य गोपेश्वर केसी, बुद्धिप्रसाद गौतम, जयबहादुर पाण्डे लगायतका नेताहरु पनि छन् ।
के विषयमा अभिमुखिकरण गरिँदै छ त ?
जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम गर्न कामी गाउँ लगिएको हो । अभिमुखिकरणका लागि विहान ६ बजेदेखि बेलुका १० बजेसम्मको समय तालिका नै बनाइएको छ । समय तालिका अनुसार खाजा,खाना, प्रशिक्षण र सुत्नेसम्मको तालिका बनाइएको छ । यही तालिका भित्र रहेर नेता तथा पूर्व जनप्रतिनिधिले नव निर्वाचित जनप्रतिनिधिलाई अभिमुखिकरण गरिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत नगर सभा सञ्चालन यसको प्रक्रिया, कार्यपालिका बैठक र सञ्चालनका विधिका बारेमा अभिमुकिरण गराइएको छ ।
यसको साथै वडाको बैठक, बैठक सञ्चालन यसको प्रक्रियाका बारेमा उनिहरुलाई सिकाइदै छ । बुधबार राति १० बजेसम्म अभिमुखिकरण कार्यक्रम चल्ने १० नम्बर वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो । ‘पहिलो यो अभिमुकिरण भयो यसबाट पनि धेरै कुरा सिकियो,’ खड्काले भन्नुभयो ‘अर्को महत्वपूर्ण पाटो माओवादीले फेरि एक पटक कामी गाउँ जस्ता ठाउँको स्मरण गरेको छ, योगदानको मूल्याकनका रुपमा यसलाई बुझ्नुपर्दछ ।’
माओवादीमाथी कामी गाउँको योगदान
कामी गाउँले माओवादीलाई महत्वपूर्ण योगदान गरेको छ । कामी गाउँ माओवादीले गरेको जनयुद्धको क्रममा सबभन्दा धेरै उपयोग गरेको ठाउँ हो । २०५३ सालदेखि २०६१ सालसम्म माओवादीले कामी गाउँलाई डीएचक्यू अर्थात जिल्ला पार्टी कार्यालय राखेको थियो । यसको सम्पूर्ण व्यवस्थापन र गोपनियता कायम कामी गाउँले नै गरेको थियो । सहिद कामी बुढा हुर्के, बढे र पढेको ठाउँ पनि यही हो ।
माओवादीले जनयुद्धमा एकीकृत प्रतिरोध अभियान सञ्चालन गरेको मुख्य ठाउँ पनि यही हो । २०५९ सालमा माओवादीले यहाँ एकीकृत जनप्रतिरोध अभियान अन्तर्गत यस गाउँका हरेक घरमा शौचालय बनाइएको थियो । स्थानीयको सहयोगमा माओवादीका पूर्णकालिन कार्यकर्ताले शौचालय बनाउने अभियान थालेका थिए । यस गाउँबाट जनयुद्धका क्रममा १३ जना सहिद भएका छन् ।
कामी गाउँको सन्देश के ?
निर्वाचन सकिए लगत्तै माओवादीका जिल्ला नेता तथा माओवादीबाट निर्वाचितहरु कामी गाउँ जानु र दुई दिन बसेर छलफल गर्नुको सन्देश के हो त ? प्रश्न स्वभाविक छ । नेताहरुले उत्तर पनि सजिलै दिएका छन् । माओवादी नेता जयबहादुर पाण्डेले कामी गाउँ माओवादीको आधार क्षेत्र मात्रै नभएर प्रेरणा लिने ठाउँको भएको बताउनुभयो ।
‘विगतदेखि नै हामी यहाँबाट प्रेरणा पाइरह्यौं, जनताको साथ र सहयोग दरिलो पाइयो यसैले नव निर्वाचित जनप्रतिनिधिलाई पनि त्यो अनुभवका लागि हामीले यहाँ राखेर अभिमुखिकरण गरिरहेका छौं’ पाण्डेले भन्नुभयो । बसाई प्रशिक्षण, खानपान सबै जनयुद्धकालिन गरिएको छ ।
‘यसबाट कामी गाउँ जस्ता गाउँहरु पार्टीले भुलेको छैन, यस्ता ठाउँ र जनताको सम्मानका लागि पार्टी कटिबद्ध नै छ भन्ने सन्देश दिन खोजिएको हो,’ केन्द्रीय सदस्य वसन्तकुमार शर्माले भन्नुभयो,‘अरु विभिन्न खाले रुप फेरिएका लडाई लड्नुपर्ने भएकाले पनि यस्ता ठाउँलाई वेवास्ता गरेको जस्तो देखिएको हो तर भएको त्यस्तो होइन ।’
दुई उद्देश्य प्राप्तीका लागि पार्टीको नगर समितिले अभिमुखिकरण गरेको भनाई केन्द्रीय सदस्य शर्माको छ । उहाँले एक स्थानीय सरकार सञ्चालनका विविध आयामका बारेमा अभिमुखिकरण गर्नु, अर्को जनयुद्ध र जनयुद्ध गर्नका लागि कामी गाउँ जस्ता गाउँको योगदान र सहयोग बुझ्न त्यसबाट प्रेरणा लिनका निमित्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।