रुकुम पश्चिमको मुसीकोट नगरकार्यपालिकाको निर्वाचन सुरु भएको छ । जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा ११ बजेदेखि मतदान सुरु भएको हो । मतदाताहरु मतदानका लागि लाईनमा बसिरहेका छन् । मुसीकोट नगर कार्यपालिकाका लागि ७२ जना मतदाता रहेका छन् । जसमा नेकपा माओवादी केन्द्रका ८ वडाध्यक्ष सहित ३९ जना, नेपाली कांग्रेसका नगर प्रमुख सहित २९ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् ।
नगर कार्यपालकामा पनि माओवादी र नेकपा एस तथा नेपाली कांग्रेस र एमालेको साझेदारी बनेको छ । आज हुने मतदानबाट ८ जना सदस्य निर्वाचित हुने छ । जसमा ५ जना यसअघि वैशाख ३० गते भएको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित महिलाहरुलाई निर्वाचित गर्नुपर्ने व्यवस्था छ भने अन्य ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट निर्वाचित हुँदै छन् ।
कार्यपालिका सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट दलबहादुर परियार, निर्मला नेपाली, राजु विक, निर्मला रसाईली विश्वकर्मा, रचना पुनमगर, ललिता सिर्पाली, दिलमाया खड्का ओली र देवी पुन उम्मेदवार हुनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसबाट अनिता विक, टेकबहादुर विक, हिरा गहतराज, अञ्जना केसी विसी, खिमाकुमारी केसी, धनमाया नेपाली र भवानी शर्मा उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट वमकुमारी ओली केसी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।