मतदान व्यवहार निर्वाचन व्यवहारकै एक रुप हो । मतदाताले कसरी, कुन आधारमा मतदान गर्छन् वा आफ्नो मत प्रकट गर्दा कुन मनोविज्ञानले उम्मेदवार वा दल छनौट गर्छन् भन्ने कुरा नै मतदान व्यवहार हो । मतदाताले मतदान गर्नुपूर्व दल वा उम्मेदवारप्रति बनाउने धारणाले मत व्यवहारलाई निर्धारण गर्दछ । तसर्थ मतदान व्यवहार भनेको मत दिन प्रभाव पार्ने कारक तत्व हो । सामान्यतया मतदान व्यवहार परिवर्तन हुनु भनेको मतदाताको मनोविज्ञानको अन्तर्द्वन्द्व हो जुन मत्रपत्रमा स्वस्तिक छाप हानुन्जेल चलिरहन्छ । आफूले यो कारणले यो उम्मेदवार वा यो राजनैतिक दललाई आफ्नो अमूल्य मत दिन्छु भनि मतदानको अन्तिम समयमा निर्णय गर्दा मतदातालाई कुनै न कुनै कारक तत्वले प्रभाव पार्दछ ।
कति मतदाताको मत व्यवहार राजनीतिक दल र उम्मेदवारले निर्धारण गर्दछन् भने कति मतदाताको मत व्यवहार उनिहरुको ज्ञान, चेतना, स्वनिर्णय गर्न सक्ने क्षमता र अन्तरदृष्टीले निर्धारण गर्दछ । नेपालको ईतिहासमा आधुनिक निर्वाचन प्रणालीको विकाससँगै २००४ साल जेठमा भएको स्थानिय निकाय अन्तर्गत काठमाँडौ म्युनसिपलिटीको निर्वाचन, २०१५ सालको आम निर्वाचन हुँदै संविधान सभा निर्वाचन २०६४ र २०७० हुँदै २०७४ सालको पहिलो स्थानिय तह निर्वाचन र २०७९को दोस्रो स्थानिय तहको निर्वाचन सम्म आइपुग्दा मतदान व्यवहारमा व्यापक परिवर्तन आएको आभाष गर्न सकिन्छ ।
हुन त स्थानिय तह निर्वाचन र आम निर्वाचनमा मतदान व्यवहार र यसका कारक तत्वहरुमा ठुलो फरक हुन्छ। तर पनि २०१५ सालको आम निर्वाचन देखि २०७४ साल सम्मका निर्वाचनमा जुन गतिमा मतदान व्यवहारमा परिवर्तन भएको देखिन्छ त्यो भन्दा २०७४ सालको स्थानिय तह निर्वाचन र २०७९ सालको स्थानिय तह निर्वाचनलाई अध्ययन गर्दा मतदान व्यवहारमा भएको परिवर्तनको गति अलि फरक भएको महशुष गर्न सकिन्छ।
यस अगाडिका निर्वाचनमा मतदान व्यवहारलाई विशेषत: राजनीतिक दलका सिद्धान्त, घोषणापत्र, कार्यक्रम, निर्वाचन अभियान, राजनैतिक दल र नेतृत्वको लोकप्रियता, कुनै पनि वर्ग, जाति, सम्प्रदाय, क्षेत्र, सामाजिक संरचना आदिको सहसम्वन्धले निर्धारण गरेको पाइन्छ । त्यस्तै तितो सत्य निर्वाचनमा प्रयोग हुने अवैधानिक तत्वहरु दवाब, प्रभाव र प्रलोभनले पनि कुनै न कुनै रुपमा मत व्यवहारमा प्रभाव पारेको पाईन्छ ।
तर स्थानिय तह सदस्य निर्वाचन २०७९ लाई अध्ययन गर्दा मतदान व्यवहार धेरै परिवर्तन भएको महशुस गर्न सकिन्छ । मतदाताको मतलाई प्रभाव पार्ने कारक तत्वमा परिवर्तन आएको छ । यसरी परिवर्तन आउनुमा मतदातामा रहेको ज्ञान, चेतना, पुराना जनप्रतिनिधि र दलप्रतिको नैराश्यता, अविश्वास, राजनीतिक दलका पुरा गर्न नसक्ने उडन्ते आश्वासनहरु कारक तत्वहरु रहन सक्छन् । त्यस्तै राजनीतिक दलले उपयुक्त उम्मेदवार छनौट गर्न नसक्नु अर्को महत्वपूर्ण कारक तत्व हुन सक्छ । त्यस्तै टेस्टेड जनप्रतिनिधिको पुन: उम्मेदवारी, उनिहरुले गरेको विकास निर्माण, उनिहरुको सामाजिक सम्वन्ध, उम्मेदवारहरुको मासमा प्रस्तुत हुने/ प्रतिक्रिया दिने शैली र उम्मेदवारको व्यक्तित्वले पनि मत व्यवहारमा फरक पारेको देखिन्छ।
हिजोका दिनहरुमा जस्तो कुनै पनि राजनीतिक दलले यो हाम्रो पकड क्षेत्र हो हामी यहाँ सहजै निर्वाचन जित्छौँ भन्ने अवस्था रहेन । अबका मतदाताले केही आशाले वा विगतका केही निराशाले आफ्नो मत व्यवहार परिवर्तन गरिरहेका छन् । २०७४ को स्थानीय तहमा विजयी भएका दलका उम्मेदवारलाई सोही ठाउँमा हराएका छन् भने हारेका दलका उम्मेदवारलाई सोहो ठाउँमा विजयी बनाएका छन् । स्थानिय तह निर्वाचनमा मतदाताले दल हैन अव व्यक्ति हेर्न थालेका छन् भन्ने सन्देश पनि २०७९ को स्थानिय तह निर्वाचनले दिन खोजेको छ ।
कतिपय ठुला महानगर र उपमहानगरमा स्वतन्त्र उम्मेदवारलाई मत प्रकट गरी विजयी बनाएका छन् । दृष्टान्तको रुपमा काठमाँडौ महानगर, धनगढी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाको निर्वाचन परिणामलाई लिन सकिन्छ । त्यस्तै स्थानिय तह निर्वाचनमा मत व्यवहार निर्धारण गर्ने अर्को प्रमुख तत्व भनेको स्थानियता देखिएको छ । मतदाताले स्थानियता भित्रको पनि स्थानियता खोजेको देखियो । जस्तो धेरै मतदाता रहेको वडा निकटको उम्मेदवार रहँदा आफ्नो दल छोडी उक्त स्थानिय उम्मेदवारलाई मतदान गरी विजयी बनाएको पनि पाईयो ।
लोकतन्त्रमा मालिक भनेकै जनता हुन् । कसलाई निर्वाचित गर्ने र कसलाई पराजित गर्ने भन्ने कुरा जनताकै हातमा रहन्छ। तसर्थ नागरिकको मतदान व्यवहारलाई आफूतिर आकर्षित गर्न राजनैतिक दल वा उम्मेदवारले आफुलाई ईमानदार, निष्ठावान, व्यावसायिक, जनता , देश र देशको विकास प्रति समर्पित बनाउनुको विकल्प छैन ।