रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्थापना गरिएको अक्षय कोषले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । बुबा–आमा छात्रवृत्ति अक्षय कोषले दोस्रो पटक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो । कोषको बैठकले गाउँपालिका भित्रका सबै विद्यालयका १ सय बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो । छात्रछात्रालाई पोशाक, झोलाका साथमा एक वर्षलाई पुग्ने कापी, कलम प्रदान गर्ने अध्यक्ष केसीले बताउनुभयो ।
सहिद परिवार, विपन्न, जेहेन्दार, टुहुरा छात्राछात्रलाई ३ लाख ५० हजार को शैक्षिक सामग्री प्रदान गर्ने योजना गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो । असार १ गते छात्रवृत्ति प्रदान गर्ने गरी निर्णय भएको हो । छात्रवृत्ति प्रदान गर्नका लागि शैक्षिक सामग्री खरिद गर्ने लगायतका निर्णय बैठकले गरेको छ । विभिन्न ९० जना व्यक्तिहरुको स्वःत स्फूर्त सहयोगबाट बाँफिकोटमा यो अक्षय कोष स्थापना गरिएको छ । पछिल्लो पटकका शैक्षिक सामग्री खरिद गर्नु अघि ३१ लाख रुपैयाँ कोषमा जम्मा भएको छ । कोषमा जम्मा भएको नगदको ब्याजबाट छात्रवृत्ति प्रदान गर्ने गरिन्छ । समितिले सबै नगद योगदान गरेका व्यक्तिको नाम ताम्रा पत्रमा लेखेको छ ।