रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सुझाव संकलन थालेको छ । गाउँपालिकाको समग्र शिक्षा क्षेत्र सुधारका लागि भन्दै गठन गरिएको कार्यदलले सुझाव संकलन थालेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी शैक्षिक गुणस्तर सुधारको काम गर्ने निर्णय गरेकाे थियाे।
सोही निर्णय अनुसार जेठ १५ गते बसेको पहिलो कार्यपालिका बैठकले शैक्षिक क्षेत्र सुधारका लागि सुझाव संकलन कार्यदल नै गठन गरेको थियो । सोही कार्यदलले सुझाव संकलन, अनुगमन लगायतका काम थालेको छ । उक्त कार्यदलले सानीभेरी गाउँपालिकाका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा गाउँपालिका भित्रका ४५ वटा विद्यालयमा अनुगमन तथा सुझाब संकलन गर्ने कार्यको सुरुवात गरेको हो । कार्यदलको बैठक बसेर ३ नम्बर वडाको चौखे र ज्यामिरे विद्यालयमा पुगि सुझाव समेत संकलन गरिएको छ ।
सुझाव कार्यदलका संयोजक भूपालसिङ विष्टले कार्यदलले सुझाव संकलनको काम सुरु गरिसकेको जानकारी दिनुभयो । गाउँपालिका भित्रका सबै ४५ वटा विद्यालयमा पुगेर अनुगमन, अनुसन्धान तथा सुझाव संकलन गर्ने संयोजक विष्टले बताउनुभयो । सबै विद्यालयमा पगेर सुझा संकलन गरे पश्चात जेठ २९ गते सानीभेरी गाउँपालिकामा सरोकारवालाहरुसँग बृहत अन्तरकृया गरिने र त्यसपछी कार्यदलले गाउँ कार्यपालिका समक्ष सुझाव सहितको प्रदिवेदन पेश गरिने संयोजक विष्टले जानकारी दिनुभयो ।