Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल रुकुम पश्चिमको नयाँ भवन बन्दै 
जिल्ला अस्पतालकाे निर्माणाधिन भवन ।

रुकुम पश्चिम जिल्ला अस्पतालको पक्की भवन निर्माणको काम सुरु भएको छ । ५० शैयाको अस्पताल संचालनका लागि संघीय सरकारको ११ करोड बजेटमा जिल्ला अस्पताल सल्लेमा नयाँ भवन निर्माणको काम सुरु भएको हो । भवन निर्माणका लागि क्रमागत रुपमा बजेट प्राप्त छ ।

पहिलो वर्ष २०७८/०७९ मा ११ करोड रकम आएकोमा काम सुरु भएको हो । आगामी आर्थिक वर्ष २०७९/०८० मा थप ११ करोड बजेट प्राप्त हुने स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक विष्णु बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जम्मा २२ करोड बजेटबाट ५० शैयाको अस्पताल संचालनका लागि २ तलाको भवन निर्माण हुनेछ ।

भवन अत्याधुनिक हुने छ । अस्पतालमा एउटा विद्युतिय लिफ्ट, एउटा भर्याङ, शौचालय, बाथरुम सहित अपांग मैत्री र्याम्पको पनि व्यवस्थापन हुनेछ । उक्त भवन निर्माण भएपछि एउटै भवनबाट सबै सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । नयाँ भवन निर्माण भएपछि विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरी जटिल खालका बिरामीहरुको पनि जिल्ला अस्पताल मै उपचारको व्यवस्था मिलाउने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक   बुढाथोकीले बताउनुभयो । 

त्यस्तै सेवाग्राहीलाई र स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पनि सहज हुने विश्वास गरिएको छ । भवन निर्माणको जिम्मा ३ वर्ष भित्र काम सक्ने गरि खानी थोदोङ मिसन जेभी कन्ट्रक्सन नयाँ बानेश्वर काठमाडौले लिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update