Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ६२ हजार बढीको स्वास्थ्य बीमा
रुकुम पश्चिम स्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय ।

रुकुम पश्चिममा ५ वर्षको अवधिमा ६२ हजार १ सय ५४ जनाले स्वास्थ्य  बीमा गराएका  छन् । २०७४ चैत्र १ गतेदेखि  रुकुम पश्चिममा बीमा कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हालसम्म ६२ हजार १ सय ५४ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका हुन् ।

चौरजहारी नगरपालिकामा २३ हजार २ सय १३, आठबीसकोट नगरपालिकामा १० हजार ९ सय ३०, मुसीकोट नगरपालिकमा ९ हजार १ सय ३, जनाले स्वास्थ्य बीमा गरेका छन् । त्यस्तै सानीभेरी गाउँपालिकामा १० हजार ४ सय ८३, बाँफिकोट गाउँपालिकामा ४ हजार ७ सय ९० र त्रिवेणी गाउँपालिकामा ३ हजार ६ सय ३१ जनाले स्वास्थ्य बीमा गरेका छन् ।

जिल्लामा सबै भन्दा बढी चौरजहारी नगरपालिकामा र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा स्वास्थ्य विमित रहेका छन् । सुरुको वर्ष स्वास्थ्य बीमाप्रति मान्छेको आकर्षण नभए पनि पछिल्लो दुई आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ मा भने स्वास्थ्य बीमा बनाउनेको  आकर्षण बढेको रुकुम पश्चिमका बीमा दर्ता अधिकारी कमल डाँगीले जानकारी दिनुभयो ।

डाँगीका अनुसार वैशाख, जेठ, असारमा स्वास्थ्य बीमा गराएकाले भदौ १ गते बाट स्वास्थ्य बीमाको सेवा पाउँछन् । त्यस्तै साउन, भदौ र असोजमा बीमा गरेकाले मंसिर १ गते बाट बीमाको सेवा सुरु हुने उहाँले बताउनुभयो । तीन महिनाको अवधिमा बीमा दर्ता प्रक्रिया हुने भएकाले ४ महिनाको पहिलो दिन अर्थात १ गते देखि बीमाको सेवा सुरु हुने  डाँगीले बताउनुभयो ।

बीमाको अवधि एक वर्ष हुने भएकाले हरेक वर्ष बीमाको नविकरण गर्नुपर्छ । सुरुमा बीमा गर्दा ५ जना सदस्य भएको एक परिवारले ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ भने ५ जना भन्दा हरेक एक जना बढ्दै जाँदा थप ७ सय रुपैयाँ तिर्नुपर्छ । नविकरण शुल्क पनि त्यसरी नै लाग्ने गरेको छ । स्वास्थ्य बीमा गरेका विरामीहरुलाई सम्भव भएको उपचार स्थानीय स्वास्थ्य संस्थामै र जिल्ला अस्पताल सल्ले मै तथा जिल्लामा सम्भव नभएका विरामीलाई जिल्ला बाहिर पनि बीमाबाटै उपचार हुन्छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update