Kakhara सबैको खबर सम्पूर्ण खबर
जिसस रुकुम पूर्वको प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा केसी निर्विरोध, घाेषणा भने २४ गते हुने

जिल्ला समन्वय समिति रुकुम पूर्वका लागि ९ जनाको मात्र उम्मेदवारी परेको छ । प्रमुख, उपप्रमुख सहित ९ सदस्यीय समितिका लागि ९ जनाको मात्र उम्मेदवारी परेको हो । यो संगै प्रमुख, उपप्रमुख र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । यसको औपचारिक घोषणा भने जेठ २४ गते हुने छ । प्रमुखमा नेकपा माओवादी केन्द्रबाट मेघबहादुर श्रेष्ठ र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका मोहनबहादुर केसीको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यहरु भने सबै माओवादी केन्द्रबाट छन् ।

३ स्थानीय तह रहेकामा जिल्ला समन्वय समितिका लागि ६ जना मतदाता छन् । जसमा ५ जना माओवादी र एक जना नेकपा एमालेका छन् । एक जना मतदाता नभएपनि स्थानीय तहको निर्वाचन अघिको सहमति अनुसार उपप्रमुखको जिम्मेवारी नेकपा एसले पाउँदै छ । आज उम्मेदवारका नाममा दावी विरोध गर्ने तालिका रहेकामा कसैले पनि दाबी विरोध नगरेपछि प्रमुख, उपप्रमुख र सबै सदस्य निर्विरोध भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्यमध्ये महिला सदस्यमा सिस्ने ७ बाट बिन्दु रावल, भूमे ३ बाट विष्णु रोका, पुथाउत्तरगंगा गाउँपालिका १० बाट प्रतिमा पुन, दलित तथा अल्यसंख्यकबाट पुथाउत्तरगंगा गाउँपालिका ८ बाट कल्पनाकुमारी सुनार, अन्य सदस्यमा पुथा ३ बाट बलकर्म बुढा, भूमे ७ बाट महिमान रोका र सिस्ने ३ बाट लालजित बुढाको उम्मेदवारी परेको छ ।

जेठ २० गते मनोनयन दर्ताको तालिका रहेकामा २१ गते दाबी विरोध उजुरीसँगै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । अन्तिम नामावली प्रकाशन भएसंगै प्रमुख, उपप्रमुख र सदस्यहरु निर्विरोध निर्वाचित हुने निश्चित भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update