Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा बाँसका भाटा र केवल तार प्रयोग गरी विद्युत चाेरी 

रुकुम पश्चिममा विद्युत चोरी भइरहेको पाईएको छ । नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले बाँसका भाटा र केवल तारको प्रयोगमा विद्युत चोरी भइरहेको फेला पारेको हो । बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँस्थलामा केही घरधुरीले मिटर नलिई चुहावट गरी बत्ति बालेको भन्ने सूचनाका आधारमा अनुगमण गर्दा केही घरले चोरी गरेर बत्ति बालिरहेको भेटिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भटराईले सूचनाका आधारमा मुसीकोटबाट खटिएको चुहावट नियन्त्रण टोलीले चोरी फेला पारेको बताउनुभयो । विद्युत चोरीमा प्रयोग भएको बाँसका भाटा र केवल तार जफत गरिएको र पहिलो पटक भएकोले चेतावनी दिएर छाडिएको उहाँले बताउनुभयो । विद्युत चोरी गैरकानुनी कार्य भएको र यसरी चुहावट गर्दा करेन्ट लागि जनधनको समेत क्षति हुने भएकोले कार्यालयले यस्तो कार्य नगर्न सबैलाई अनुरोध गरेको छ । 

साथै कार्यालयमा सम्पर्क राखी मिटर जडान गरेर मात्र विद्युत प्रयोग गर्न समेत कार्यालयले अनुरोध गरेको छ । केन्द्र प्रमुख भटराईका अनुसार करिब ३ दर्जन घरले डाइरेक्ट हुकिङ गरि बत्ती बालेको पाइएको थियो । केन्द्रले जिल्ला भरमा विद्युत चुहावट रोकथाम अधियान चलाईरहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  २३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update