Kakhara सबैको खबर सम्पूर्ण खबर
तलब भत्ता बढाउन र नियमित रूपमा दिन त्रिवेणीका अनुदान शिक्षक तथा कर्मचारीको माग 
अनुदान शिक्षक तथा कर्मचारीहरू ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरुको भेला सम्पन्न भएको छ । वडा नम्बर ३ मा रहेको जनजागरण माद्यमिक विद्यालय झुल्नेटामा शनिवार भेला भएको हो । उक्त भेलामा त्रिवेणी गाउँपालिकामा अनुदानमा कार्यरत शिक्षक लगायत विद्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

शिक्षक र विद्यालय कर्मचारीको भेलाबाट खिमबहादुर पुनको संयोजकमा ११ सदस्यीय संयुक्त संघर्ष समिति निर्माण गरिएको छ । उक्त समितिले गाउँपालिकामा अनुदानमा कार्यरत शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीहरुको बिगत ३ वर्ष यता नबढेको तलब भत्ता बढाउनु पर्ने, आर्थिक वर्ष २०७८/०७९ को चाडपर्व भत्ता पाउनुपर्ने माग गरेको छ । 

आफूहरु संगै पढाउने स्थायी शिक्षक कर्मचारीहरुको दुई आर्थिक वर्षमा लगातार तलब वृद्धि हुँदा पनि अनुदानमा कार्यरत  शिक्षक कर्मचारीहरुको तलब वृद्धि नभएको संयोजक पुनले गुनासो गर्नुभयो । स्थानीय सरकारबाट अनुदानमा कार्यरत शिक्षक कर्मचारीहरुलाई समयै तलब भत्ता दिनुपर्ने माग गर्दै चाडपर्व तथा पोषाक खर्चको समेत रकम निकासाको माग संयुक्त संघर्ष समितिले गरेको छ । 

समितिले गाउँपालिका र सम्बन्धित निकायसंग छलफल र समन्वय गरी काम गर्ने समितिका सदस्य महेन्द्र खड्काले बताउनुभयो । अहिले त्रिवेणी गाउँपालिका भित्र १ सय ७५ जना शिक्षक तथा कर्मचारीहरु अनुदान कोटामा कार्यरत छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update