जिल्ला समन्वय समिति रुकुम पश्चिमको निर्वाचन मिति तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज सूचना टाँस गरी जिल्ला समन्वय समितिको निर्वाचनको मिति सार्वजनिक गरेको हो । उक्त सूचना अनुसार जेठ ३१ गते समन्वय समितिको निर्वाचन हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको सम्पूर्ण कार्यक्रम सार्वजनिक गरेको छ ।
जेठ २३ गते मतदाता नामावली प्रकाशन हुनेछ । २४ गते मतदाता नामावली सच्च्याउन वा छुटेका नामावली समावेशन गर्न पाइने छ । २५ गते मतदाता नामावली उपर उजुरी गर्ने, उजुरी उपर जाँचबुझ गर्ने र सोही दिन नै अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । २६ गते मनोनयन दर्ताको कार्यक्रम तोकिएको छ । सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने छ ।
२७ गते उम्मेदवार उपर उजुरी गर्ने समय राखिएको छ । २८ गते मनोनयन पत्रको जाँचबुझ र उजुरी उपर छानविन गरिने छ । २८ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ । २९ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका राखिएको छ । ३० गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३१ गते मतदानको कार्यतालिका छ ।
जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी ९ जना निर्वाचित हुनेछन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ जना मतदाता छन् । ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले जिल्ला समन्वय समितिको निर्वाचनमा मत हाल्न पाउँछन् । रुकुम पश्चिममा ९ जना मतदाता नेकपा माओवादी केन्द्रका, २ जना नेपाली कांग्रेसका र १ जना नेकपा एकीकृत समाजवादीका मतदाता छन् । एक जना मतदाताको मतभार २० रहेको बताइएको छ ।