नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले आज आह्वान गरेको आम हड्ताल बेलुकी ५ बजेदेखि सकिएको छ । हड्ताल सकिएसंगै व्यापार व्यवशाय खुलेका छन् भने सार्वजनिक तथा नीजि सवारी साधानहरु संचालनमा आएका छन् । जिल्ला आउँने तथा जिल्लाबाट बाहिर जाने यातायातका साधानहरु हड्तालका कारण विच बाटोमै अलपत्र परेका थिए । आम हड्तालको प्रभाव रुकुम पश्चिममा पूर्ण रुपमा परेको थियो । बिहानै देखि सार्वजनिक तथा निजी सवारी, शैक्षिक संस्था, कुनैपनि प्रकारका व्यवसाय तथा व्यापार बन्द रहेका थिए ।
आम हडताललाई सफल पार्न बाक्लो संख्यामा नेकपाका कार्यकर्ता सडकमा उत्रिएका थिए । बिहानै देखि जिल्ला सदरमुकाम सहित जिल्लाका ठुला बजार क्षेत्रहरुमा नेकपाका कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिएको थियो । हड्ताललाई लक्षित गर्दै जिल्लामा सुरक्षाकर्मिहरु पनि ठुलो संख्यामा परिचालन गरिएको थियो । हड्तालका क्रममा जिल्लामा कुनैपनि अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । जिल्लामा आज दिनभरको अवस्था शान्तिपूर्ण नै रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो । झडप, तोडफोड जस्ता कुनैपनि अप्रिय घटना नभएको उहाँको भनाई छ ।
नेकपाले पनि आमहड्ताल शान्तिपूर्ण रुपमा सफल रहेको बताएको छ । जिल्ला सचिव बिमलकुमार पुनले हड्ताल पूर्ण रुपमा सफल भएको भन्दै सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । हड्ताल सफल पार्न खटिएर सहयोग गर्ने सम्पूर्ण पार्टी कार्यकर्ता, विद्यार्थी, महिला, युवा सहित हड्तालमा ऐक्यबद्धता जनाएर सहयोग गर्ने सम्पूर्ण व्यापारी, उद्योगी, शैक्षिक संस्था, यातायात व्यवशायि, पत्रकार, सञ्चार गृह लगायत सम्पूर्ण सर्वसाधारणलाई नेकपाले धन्यवाद दिएको छ । संवैधानिक परिषदमा असंवैधानिक नियुक्ति र सपथ ग्रहण विरुद्ध नेकपाले आज देशैभर आमहड्ताल घोषणा गरेको हो ।