रुकुम पश्चिमको त्रिवेणी गाउपालिकाका वडा नम्बर ३ र ६ लाई पूर्ण खोप दिगोपना सुनिश्चित वडा घोषणा गरिएको छ । २३ महिना मुनिका बालवालिकाहरुले पाउनुपर्ने सबै खोपको मात्रा पाएको र आगामी दिनमा पनि पाउने निश्चित भएपछि एक कार्यक्रमका विच २ वडालाई आज पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिका अस्पतालमा आयोजित कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले वडा नम्बर ३ र वडा नम्बर ६ लाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्नुभयो । २ वटा वडामा रहेका ५९ जना बालबालिकाले नेपाल सरकारले तयार पारेको राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप पाएको त्रिवेणी गाउँपालिका अस्पतालका इन्चार्ज कृष्णबहादुर ओलीले जानकारी दिनुभयो ।
गाउँपालिकालाई नै पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा गर्ने लक्ष अनुसार आज २ वडालाई घोषणा गरिएको उहाँले बताउनुभयो । अव मापदण्ड पुरा भएका अन्य वडाहरुलाई पनि घोषणा गर्दै जाने उहाँको भनाई छ । गाउँपालिकामा जम्मा १० वटा वडा रहेका छन् । गाउँपालिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मोहन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, ३ नम्बर वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर सिर्पाली, गाउँकार्यपालिका सदस्य चाँदनी पुन, गाउपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेम पुन, स्थानीय बुद्धिजिबि तथा समाजसेवि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन अस्पतालका सह–इन्चार्ज दिनेश बिष्टले गर्नु भएको थियो ।