रुकुम पश्चिमको चौरजहारी नगर कार्यपालिकाले सुरक्षित आवास अन्तर्गत खरको छानामुक्त घर निर्माणको काम अघि बढाउने भएको छ । नगरपालिकाका विभिन्न वडाका ४२ घरलाई खरका छानामुक्त बनाउने निर्णय भएको छ । वैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित कार्यपालिकाको पहिलो बैठकले कोभिडबाट संक्रमितलाई पनि आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
अघिल्लै कार्यपालिकाले गरेकाे तयारीलाई यस कार्यपालिकाले निर्णय गरेर कार्यान्वयनमा लैजान लागिएको नगरप्रमुख पुष्प वादीले जानकारी दिनुभयो । नगरप्रमुखले पदभार ग्रहणका क्रममा गरेको अग्नी पीडितलाई नगद सहयोग गर्ने लगायतका निर्णय पनि कार्यपालिकाबाट अनुमोदन गरिएको छ ।
बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तयारीमा जुट्ने निर्णय पनि गरेको छ । कार्यपालिका भित्रका विषयगत समिति गठन पनि गरिएको छ । पहिलो कार्यपालिको बैठकबाट विभिन्न विषयगत समिति गठन गरिएको हो । नगरप्रमुख वादी, उपप्रमुख इश्वरीकुमारी शर्मा विएम तथा वडाध्यक्षहरु संयोजक रहने गरी समिति गठन भएका छन् ।
स्रोत अनुमान तथा बजेटका सिमा निर्धारण समितिको संयोजकमा नगरप्रमुख पुष्प वादी हुने व्यवस्था छ । न्यायिक समिति, स्थानीय राजश्व परामर्श समिति, बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपप्रमुख इश्वरीकुमारी शर्मा विएम हुने व्यवस्था छ । यसका साथै कार्यपालिका बैठकले अरु समिति पनि गठन गरेको छ । गोपाल भण्डारीको संयोजकत्वमा सार्वजनिक लेखा तथा सुशासन समिति गठन गरिएको छ ।
लालबहादुर बुढाको संयोजकत्वमा सामाजिक विकास समिति, खुमबहादुर खड्काको संयोजकत्वमा पूर्वाधार विकास समिति गठन गरिएको छ । विरबहादुर रानाको संयोजकत्वमा विधायन समिति, श्रीकृष्ण शर्माको संयोजकत्वमा आर्थिक विकास समिति र टिकाराम ओलीको संयोजकत्वमा वातावरण तथा विपद् व्यवस्थापन समिति गठन भएको छ ।