राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर निष्काशन तथा विक्रि खुला गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिम २ जिल्लालाई लक्षिंत गरेर ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण शेयर निष्काशन तथा विक्रि खुला गरिएको हो । आयोजनाले प्रभावित क्षेत्रका रुपमा रहेका रुकुम पूर्व र पश्चिमका लागि प्रति व्यक्ति साधारण शेयर १ सयका दरले ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण शेयर खुला गरिएको राप्ती हाइड्रोका जनसम्पर्क अधिकृत धिरेन्द्रप्रकाश शाहले जानकारी दिनुभयो ।
एक व्यक्तिले कम्तिमा १० कित्ता देखि बढीमा ६ लाख कित्ताका लागि आवेदन दिन सक्ने उहाँले बताउनुभयो । जेठ २४ गते आज देखि निष्काशन तथा विक्रि खुला गरिएको साधारण शेयर असार ७ गतेसम्म खुला रहने उहाँको भनाई छ । शेयरका लागि मोवाईलबाट दरखास्त दिन मिल्ने छैन् । यसका लागि बैंकमा सम्पर्क गर्नुपर्ने छ । ग्लोवल आईएमई बैंक रुकुमकोट र मुसीकोट शाखा, प्रभु वैंक रुकुमकोट शाखा, शिद्धार्थ बैंक पुथाउत्तरगंगा शाखा र मुसीकोट शाखाबाट आवेदन दिन सकिने बताईएको छ ।
यसका साथै नेपाल धितोपत्र वोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि वैंक तथा वित्तिय संस्थाहरुबाट आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ । राप्ती हाईड्रोले रुकुम पूर्वमा ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । हालसम्म उक्त आयोजनाको ८५–९० प्रतिशत काम सकिएको जन सम्पर्क अधिकृत शाहले बताउनुभयो । उहाँका अनुसार ६ महिनाभित्रमा काम सक्ने गरी तयारी भइरहेको छ ।