जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख र उपप्रमुखले आज पदभार ग्रहण गरेका छन् । निर्विरोध निर्वाचित हुनुभएका प्रमुख मेघबहादुर श्रेष्ठ र उपप्रमुख मोहनबहादुर केसीले आज सपथ ग्रहण पछि पदभार ग्रहण गर्नुभएको हो । आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ ग्रहणको कार्यक्रम राखिएको थियो ।
मुख्य निर्वाचन अधिृकत सनतचन्द्र लवटले प्रमुख श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । त्यसपछि प्रमुख श्रेष्ठले उपप्रमुख केसी सहित ७ जना सदस्यलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । सपथ ग्रहण पछि सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रिदहमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा पुगेर प्रमुख र उपप्रमुखले पदभार ग्रहण गर्नुभएको हो ।
त्यसअघि निवर्तमान जिसस प्रमुख गजेन्द्रबहादुर ओली र उपप्रमुख भिमकुमारी मल्लले नवनिर्वाचित प्रमुख र उपप्रमुखलाई स्वागत गर्दै पद हस्तान्त्रण समेत गर्नुभएको थियो । पदभार ग्रहणपछि जिसस प्रमुख श्रेष्ठले सहिदप्रति श्रदाञ्जली अर्पण गर्दै जिल्ला समन्वय समिति रुकुम पूर्वको पहिलो बैठक भोलीका लागि बोलाउनुभएको छ । प्रमुख, उपप्रमुख सहित सबै सदस्यमा निर्विरोध भएको थियो ।
प्रमुखमा निर्वाचित श्रेष्ठ नेकपा माओवादी केन्द्र र उपप्रमुखमा निर्वाचित केसी नेकपा एकीकृत समाजवादीबाट हुनुहुन्छ । अन्य ७ सदस्य भने सबै माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । सदस्यहरुमा बिन्दु रावल, विष्णु रोका, प्रतिमा पुन, कल्पनाकुमारी सुनार, बलकर्म बुढा, महिमान रोका र लालजित बुढा रहनुभएको छ । जिल्ला समन्वय समितिको नेतृत्व यसअघि पनि नेकपा माओवादी केन्द्रले पाएको थियो ।