ग्लोबल आइएमई बैंकले रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ साँखमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । मेरी उनीलाई स्वस्थ नारी पहल अन्तरगत जेठ २६ गते बिहिबार साँख स्वास्थ्य चौकीमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविर संचालन हुन लागेको बैंकले जनाएको छ ।
नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट महिलामा देखिने पाठेघरको समस्या सहित अन्य समस्या र परिवार नियोजन सम्बन्धी सेवा निःशुल्क रुपमा प्रदान गरिने ग्लोबल आइएमई बैंक रुकुम पश्चिमका सहायक अधिकृत गहेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चेकजाँच तथा औषधि वितरण निःशुल्क रुपमा हुने छ ।
बैंकले पहिलो पटक जिल्लामा स्वास्थ्य शिविर आयोजना गरेको उहाँले बताउनुभयो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निःशुल्क महिला स्वास्थ्य शिविर संचालन हुन लागेको बोहराले बताउनुभयो । शिविरमा सेवा दिने स्वास्थ्यकर्मीको टीम दाङबाट आउने बताईएको छ । शिविरमा आएर स्वास्थ्य सेवा लिन बैंकले सबैलाई अनुरोध समेत गरेको छ ।