मध्यपहाडि लोकमार्ग अन्तरगत रुकुम पश्चिमको शेरिगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम धमाधम भइरहेको छ । मुसीकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँ देखि सानीभेरी गाउँपालिका वडा नम्बर ९ हाँसिवाङसम्मको १२ किलोमिटर सडक कालोपत्रेको काम धमाधम भइरहेको हो ।
सडक चौडा बनाउने र नाली निर्माण लगायतका काम पुरा भएपछि सडक कालोपत्रेको काम सुरु भएको हो । यस खण्डको कालोपत्रेका लागि ४४ करोड बजेटमा दिवा एती विल्डर्स जेभिले जिम्मा लिएको छ । एति विल्डर्सका सञ्चालक भिमराज केसीले ३ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा सम्झौता अनुसार काम भइरहेको बताउनुभयो ।
सञ्चालक केसीका अनुसार गएको २०७७ असार देखि सडक स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्धारित समय अगावै काम सक्ने उहाँले बताउनुभयो । सम्झौता मिति २०७९ को पुस मसान्तसम्म भएपनि असार मसान्तसम्म कालोपत्रेको काम सकिने उहाँको भनाई छ । यो खण्डमा कालोपत्रे भएसंगै रुकुम पश्चिममा पर्ने मध्य पहाडि लोकमार्गको सबै ठाउँमा कालोपत्रे सकिने छ । विभिन्न खण्डमा विभाजन गरेर कालोपत्रेको काम भइरहेको छ ।
अफ्ठेरो खण्डको रुपमा रहेको यस खण्डको ठेक्का सबैभन्दा ढिलो लागेको थियो । अहिले पनि यस खण्डमा पर्ने मुसीकोट ३ को खरेखरेमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । कमजोर भुगोलका कारण बर्खामा पहिरो र हिउँदयाममा पनि सुख्खा पहिरो निरन्तर रुपमा झर्दा यातायातका साधन सहित नागरिकहरुले जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् ।